वर्षमानद्वारा रोल्पा विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा मात्र रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परी ठुलो मानवीय तथा भौतिक क्षति भएको बताए ।
उनका अनुसार गत २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परी चारजनाले ज्यान गुमाएका थिए । त्यसैगरी, ३० गते लुंग्री गाउँपालिकाको धैरेनीमा एकजनाको मृत्यु भएको उनले बताए। 

पुनका अनुसार अघिल्लो साता सेरममै पहिरोमा परी थप दुईजनाको मृत्यु भएको थियो भने परिवर्तन गाउँपालिकाको पाछावाङमा एकजनाको ज्यान गएको थियो । लुंग्री गाउँपालिका– १ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको उनले सदनलाई जानकारी गराए ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले आफूले यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेरै ध्यानाकर्षण गराइसकेको पनि सदनलाई जानकारी गराए । 

पुनले विपतकाे पूर्वतयारीदेखि उद्धार र राहतसम्मका सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन माग गरे । प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका संयन्त्र चुस्त बनाउन र राहत सामग्री तत्काल पुर्याउनुपर्ने उनको भनाइ थियो ।

पहिरोका कारण अवरुद्ध सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउन उनले सरकारसँग माग गरे । सडकसँगै खानेपानी र पुलहरूमा समेत क्षति पुगेकाले तिनको निर्माण गर्नुपर्ने उनले बताए ।

रोल्पामा पटक–पटक पहिरो जाने क्षेत्रको दीर्घकालीन जोखिम पहिचान गर्न तत्काल भौगर्भिक अध्ययन टोली पठाउन पुनले सरकारसँग माग गरे । 

। ‘सम्माननीय प्रधानमन्त्रीसँग पनि  भेटेर ध्यानाकर्षण गराएको छु ।  पूर्वतयारीमा सरकारको ध्यान जाओस् । खोजतलास र उद्धारमा संयन्त्रहरू चुस्त बनून् । राहत सामग्री तत्काल पुगोस्,’ उनले भने, ‘खासगरी सुलिचौर–उवा–थवाङ सडक तत्काल नियमित गर्नका लागि म माग गर्दछु । खानेपानी, सडक पुलहरू क्षति भएका छन् । छिट्टै पुनर्स्थापना गरियोस् र दीर्घकालीन रूपले भौगर्भिक अध्ययन टोली अविलम्ब पठाइयोस् ।’ 
 

सुझावित समाचार