नेपाल एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ वरीयताको उपाधि रक्षा गरेका छन् । पुरुषतर्फ आइतबार भएको फाइनलमा प्रिन्सले एपिएफकै क्षितिज खनालमाथि २१–१५ र २१–७ को जित निकाले । प्रिन्सले लिगमा हारेको बदलासमेत लिएका छन् । प्रिन्सले ४८ हजार पाँच सय र उपविजेता क्षितिजले ३० हजार रुपैयाँ पाए ।
महिलातर्फ आर्मी क्लबकी रसिलाले पुलिसकी शेस्ना श्रीपालीलाई २१–१२ र २१–१३ को सोझो सेटमा हराउँदै लगातार दोस्रोपटक उपाधि जितेकी हुन् । तेस्रो स्थानमा पुलिसकी निता लम्साल र एपिएफकी रिहाना शेरचन रहे । च्याम्पियन रसिलाले ५० हजार र उपविजेता शेस्नाले २८ हजार पाँच सय रुपैयाँ हात पारे ।
प्रतियोगिताको शीर्ष आठबाहेकको पुरुष एकलमा नेपाल पुलिस क्लबका डेभिड थापामगरले उपाधि जितेका छन् । डेभिडले आफ्नै क्लबका कबिर केसीमाथि २१–७ र २१–१८ को जित निकाल्ले । महिलातर्फ कास्कीकी दिलाशा रानाले फिटनेपाल स्पोर्टस् प्लेक्सकी निभा राईलाई २१–१६ र २१–१४ ले हराउँदै उपाधि जितिन् । यस विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानमा रहेका खेलाडीले सात हजार रुपैयाँ पाए ।
प्रतियोगिताको महिला युगलमा आर्मी क्लका अमिता गिरी र रसिला महर्जनको जोडीले फाइनलमा चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडीलाई २–१ को सेटमा हराए । पुरुष युगलमा एपिएफका देवराज राना र प्रिन्स दाहालको जोडीले उपाधि जितेका छन् । प्रिन्सको जोडीले आर्मीका विधान अधिकारी र प्रफुल महर्जनको जोडीलाई २२–२० र २१–१७ ले पराजित गरे ।
यू–१९ पुरुषमा विराट विजेता
पुरुष यू–११ एकलमा पुलिस क्लबका विराट बस्नेत पहिलो भए । उपाधि जित्ने क्रममा उनले नोबल इन्भाइरोमेन्ट एकेडेमीका डेनिस थापालाई २–१ को सेटमा हराए । महिला यू–२१ मा एपिएफकी रेन्शा श्रेष्ठले सिन्धुपाल्चोककी रिदिना श्रेष्ठलाई २–० ले हराइन् । यसैगरी, यू–१५ को पुरुष एकलको उपाधि धन्यन्तरीका सुहम कार्कीले जिते । सुहमले आर्मीका सुदेश राजकोटीलाई २–१ को सेटमा हराएका हुन् ।
महिलातर्फ निभा राईले पुलिस क्लबकी अस्मिता खत्रीमाथि फाइनलमा २१–१६ र २२–२० को जित निकालिन् । यसैगरी, यू–१९ पुरुष एकलको उपाधि भिडन्तमा पुलिस क्लबका कबिर केसीले आर्मीका सुप्रिम पन्तलाई २१–१६ र २१–१७ ले पराजित गरे । महिलामा कास्कीकी दिलाशा रानाले एसियन खेलकुद प्रतियोगिताका लागि छनोट भएकी एपिएफकी रिहाना शेरचनलाई २१–१४ र २१–१२ ले हराइन् । प्रतियोगिताको पुरस्कार धनराशि १० लाख ७८ हजार रुपैयाँ रहेको छ । लगातार तीनपटक उपाधि जित्ने खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्नेछन् । यसअघिको संस्करणमा लगातार तीन संस्करणका विजेता प्रिन्स दाहालले मोटरसाइकल प्राप्त गरेका थिए ।
