पुरुषले आफ्नो पीडा खुलेर व्यक्त गर्न नसक्ने सामाजिक मनोविज्ञानलाई केन्द्रमा राखिएको न्यारेटिभ फिल्म ‘पुरुष : मौनतामा लुकेको पीडा’ सार्वजनिक भएको छ। यो न्यारेटिभ फिल्मले पुरुषको मौनता, भावनात्मक संघर्ष र समाजले उसमाथि राख्ने अपेक्षालाई कथामार्फत प्रस्तुत गरेको छ।
फिल्मको राइटर, कन्सेप्ट तथा न्यारेटर कलाकार रामहरि खड्का हुन् भने भिजुअल कन्सेप्ट तथा निर्देशन खेमनाथ खनालले गरेका छन्।
फिल्म पुरुष पनि भावनात्मक रूपमा संवेदनशील हुन्छ र उसले भोग्ने पीडा सधैँ शब्दमा व्यक्त नहुन सक्छ भन्ने पक्षलाई दर्शकमाझ पुर्याउन खोजेको छ ।
कथालाई दृश्य भाषामार्फत प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको खड्काको भनाइ छ।
‘पुरुष : मौनतामा लुकेको पीडाले पुरुषको भावनात्मक संसार, उसले भोग्ने अदृश्य दबाब र आफूभित्रको पीडा लुकाएर बाँच्नुपर्ने अवस्थालाई उजागर गर्न खोजेको छ। सामाजिक विषयवस्तुलाई मनोरञ्जनभन्दा फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको यो फिल्म दर्शकलाई पुरुषको पीडालाई पनि संवेदनशील रूपमा बुझ्नुपर्ने रहेछ भन्ने महसुस गराउछ,’ उनले भने ।
फिल्ममा मेश्वर चौरसिया, मेलिना ठाकुरी र रोहित कार्कीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनिस खड्का र आराध्या आरएल डिसीले अभिनय गरेका छन्।
भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन्। त्यस्तै, मित्र डि. गुरुङले सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन्। चलचित्रमा रहेको गीत तथा गीतका शब्द विदुरराज गिरीको रहेको छ।