- जापानको नायोगा र आइचीमा हुने २०औँ एसियन खेलकुद प्रतियोगितामा पौडीतर्फ एर्भिन श्रेष्ठ, जादेन श्रेष्ठ, आर्या महर्जन, अभिव प्रधान र डुवाना लामाले प्रतिस्पर्धा गर्दै छन् । डुवानाबाहेक चार खेलाडी नयाँ अनुहारका हुन् ।
जापानको नायोया र आइचीमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालबाट पौडीले पनि भाग लिँदै छ । यसपटक एसियाडमा पौडीतर्फ पाँचजनामध्ये चारजना खेलाडी नयाँ अनुहारका हुन् । एर्भिन श्रेष्ठ, जादेन श्रेष्ठ, आर्या महर्जन तथा अभिव प्रधानले पहिलोपटक एसियाडमा प्रतिस्पर्धा गर्नेछन् । टोलीमा आबद्धमध्ये पाँचौँ खेलाडीका रूपमा डुवाना लामा हुन् । बैंककमा अध्ययनको क्रममा लामाले फुकेटमा प्रशिक्षण गरिरहेकी छिन् ।
फुकेटबाटै उनी जापान पुग्ने नेपाल पौडी संघले जनाएको छ । डुवानाबाहेक चार खेलाडी भने सातदोबाटोको पौडी पोखरीमा प्रशिक्षणमा व्यस्त रहे । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पौडी खेलाडीलाई थप एक्सपोजर प्रदान गर्न भारतको बेंग्लोरमा प्रशिक्षणको व्यवस्था मिलाएको छ । राखेपले शुक्रबारै मात्र पौडी टोलीको बिदाइ गर्यो । नेपालको पौडी टोलीले बेंग्लोरमा एक महिना प्रशिक्षण गर्नेछ । त्यसपछि उनीहरू जापानतर्फ लाग्नेछन् ।
पुरुषतर्फ एर्भिन, जादेन र अभिवले आफ्नो इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । महिलामा अनुभवी डुवानालाई आर्याको साथ रहने संघले जनाएको छ । यसर्थमा डुवानाबाहेक अन्य चार खेलाडीहरूको एसियाड पहिलो सहभागी हुनेछन् । नेपाली टोलीलाई मुख्य प्रशिक्षक रत्नलाल महर्जनले प्रशिक्षण गराएका हुन् । महर्जनकै प्रशिक्षणमा पछिल्लो संस्करणमा नेपालले भाग लिएको थियो । सातदोबाटोको पौडी पुलमा एसियाडमा छनोट भएका पौडीबाजहरूले हप्तामा नौ सेसन प्रशिक्षण गरेका थिए । उनीहरूको प्रशिक्षण बिहानै साढे पाँच बजे सुरु हुन्छ ।
त्यसपछि दिउँसो तीन बजे फेरि दोस्रो चरणको प्रशिक्षणमा चारजना खेलाडी संलग्न हुन्छन् । मुख्य प्रशिक्षक महर्जनले दैनिक दुई सेसनमा प्रशिक्षण दिन्छन् । २०औँ एसियाडका लागि गत ६ र ७ जुनमा छनोट प्रतियोगिता भएको थियो । पाँचै खेलाडी आ–आफ्नो विधाका च्याम्पियन हुँदै एसियाडका लागि छनोट भएका थिए । एर्भिनले अगाडि नै नेपाल ओलम्पिक कमिटी (एनओसी)बाट प्राप्त ओलम्पिक छात्रवृत्तिमार्फत एसियाडमा स्थान पक्का गरेका थिए ।
राखेपले यसै महिनादेखि एसियाडमा सहभागी हुने खेलाडीहरूलाई क्लोजक्याम्पमा राखेको थियो । मुख्य प्रशिक्षक महर्जनले पौडीको बन्द प्रशिक्षण १८ साउनदेखि सुरु भएको थियो । एसियाडमा पौडीको सहभागिता धेरै भए पनि पदक नेपाल पदकविहीन छ ।
लक्ष्य राष्ट्रिय कीर्तिमान
ओलम्पिकदेखि विश्व च्याम्पियनसम्म पदक जितेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका हुन्छन् । यस्तोमा नेपाली खेलाडीहरूले पदक जित्नु भनेको दिउँसै सपना देख्नु बराबर हो । नेपाली खेलाडीहरूको प्रत्येक सहभागीमा राष्ट्रिय रेकर्डदेखि व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हो । मुख्य प्रशिक्षक महर्जनले जापानमा खेलाडीहरूले राष्ट्रिय कीर्तिमान बनाउनै पहिलो लक्ष्य भएको बताए । ‘मुख्य लक्ष्य राष्ट्रिय कीर्तिमान सुधार गर्नु हो,’ बिदाइ कार्यक्रममा महर्जनले भने, ‘यसैअनुरूप तयारी भइरहेको छ ।’ एसियामा चीन, दक्षिण कोरिया र जापानजस्ता खेलाडीहरूको उपस्थितिमा नेपालले पदक आशा गर्न नसकिने उनको भनाइ छ । ‘एसियाडमा पदकका मुख्य दावेदार चीन, जापान र दक्षिण कोरियाका खेलाडी हुन् । उनीहरूबिच पदक आशा गर्न सकिँदैन,’ नेपाल र राष्ट्रका क्षमता मापन गर्दै उनले भने, ‘हामी वर्तमान समयमा त्यो लेभलमा पुगेका छैनौँ ।’
डुवानालाई अवसर
टोलीमा आबद्ध सबैभन्दा अनुभवी खेलाडी डुवानालाई यसपटक आफ्नै कीर्तिमान तोड्ने अवसर जुरेको छ । उनको नाममा सय मिटर ब्रेस्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान छ । नेपालकी चर्चित पौडीबाज गौरिका सिंहले सय तथा दुई सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान राखेकी छिन् । डुवानाले सय र दुईसय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । साथै उनले थप सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । जापानमा डुवानाले तीनवटै विधामा रेकर्ड राख्ने सम्भावना छ ।
यसैगरी, पुरुषतर्फ एर्भिनले ५० र सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । नयाँ खेलाडीमध्ये उनी अनुभवी मानिन्छन् । ओलम्पिकको छात्रवृत्ति पाएका एर्भिनले पछिल्लो समयमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । उनले एसियाडमा राष्ट्रिय कीर्तिमान बनाउने प्रयास हुने बताए ।
यसैगरी, नयाँ खेलाडी जादेनले पनि सय तथा ५० मिटर ब्रेस्टस्ट्रोकमा भाग लिने छन् । अभिवले सय मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा सहभागी मध्ये कान्छी खेलाडी आर्याले सय मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । उनको लक्ष्य पनि व्यक्तिगत सुधार गर्ने हुने छ ।
हाम्रो लक्ष्य व्यक्तिगत रेकर्ड सुधार हुनेछ : रत्नलाल महर्जन, मुख्य प्रशिक्षक, पौडी
प्रतियोगिताका लागि हाम्रो तयारी राम्रो भएको छ । भारतको बेंग्लोरमा थप एक महिना प्रशिक्षण हुनेछ ।
हामीहरूको मुख्य लक्ष्य राष्ट्रिय कीर्तिमान सुधार गर्नु हो । यसैअनुरूप तयारी भइरहेको छ ।
पदकका मुख्य दाबेदार चीन र जापानका खेलाडी हुन् । उनीहरूबिच पदक आशा गर्न सकिँदैन । हामी उनीहरूको लेभलमा पुगेका छैनौँ ।