- डिजिएम परियोजना सञ्चालनका लागि सहपरियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन, संस्थापक अध्यक्षको सालिक निर्माण गरिने
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशन आगामी असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष वसन्तप्रसाद ढकालले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८३/८४ का लागि आय–व्यय स्वीकृत भएको छ । संघका कोषाध्यक्ष ढकाल संयोजक रहेको बजेट तर्जुमा समितिले निर्माण गरेको आय–व्यय बैठकमा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी, संघले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डिजिएम परियोजना सञ्चालनका लागि सहपरियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त समितिमा संघका अध्यक्ष अर्यालसहित मलमला सामुदायिक वन उपभोक्ता समिति सैनामैनाका अध्यक्ष तुलसी पोखरेल, प्रगति सामुदायिक वन उपभोक्ता समिति देवदहका अध्यक्ष दुर्गाबहादुर राना छन् । त्यस्तै, संघकी सहकोषाध्यक्ष धनकुमारी खनाल, कार्यसमिति सदस्य रेनु श्रेष्ठ, सुनीता शर्मा बन्जाडे, विष्णु घिमिरे पन्त, कार्यकारी निर्देशक मदनकुमार कार्की र वरिष्ठ अधिकृत दोलबहादुर कुँवर पनि उक्त समितिमा छन् ।
त्यसैगरी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन उपसमिति, उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईको नेतृत्वमा उत्पादन उपसमिति, महासचिव मुक्तिप्रसाद अधिकारीको नेतृत्वमा खरिद उपसमिति तथा कोषाध्यक्ष वसन्तप्रसाद ढकालको नेतृत्वमा लेखा उपसमिति गठन गरिएको छ ।
बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले संघले उद्योगी–व्यवसायीको हकहित तथा व्यावसायिक प्रवर्द्धन र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले गरेको योगदान स्मरणीय रहेको बताए । उनले यस क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रवर्द्धनका कार्यक्रम ल्याउन सुझावसमेत दिए ।
त्यस्तै, संघका संस्थापक अध्यक्ष स्व. पद्यचन्द्र श्रेष्ठको अर्धकदको सालिक निर्माण गरिने भएको छ । संस्थापक अध्यक्षको सम्मान र संघको समेत गरिमा बढाउन आगामी साधारणसभामा अनावरण गर्ने गरी संघपरिसरमा संस्थापक अध्यक्ष स्व. श्रेष्ठको अर्धकदको सालिक निर्माण गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका संघका अध्यक्ष अर्यालले बताए ।
२००९ सालमा तदर्थ समिति हुँदै २०१० मा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष स्व. पद्यचन्द्र श्रेष्ठ २०१६ सम्म अध्यक्ष बनेका थिए । उनले उद्योगी–व्यवसायीको हकहित तथा यस क्षेत्रको औद्योगिक, व्यावसायिक, आर्थिक तथा सामाजिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यसैगरी, बैठकले संघका पूर्वअध्यक्षको नाममा विभिन्न विषयगत अक्षयकोष स्थापना गर्ने निर्णय पनि गरेको छ । स्थापना गर्ने अक्षयकोषमा स्वयं पूर्वअध्यक्ष वा पूर्वअध्यक्षको परिवारबाट सहयोग उपलब्ध गराउन आह्वान गर्ने पनि निर्णय गरिएको महासचिव अधिकारीले बताए ।