- ऋण असुली नहुँदा खराब कर्जाको दबाब कायमै, ६ बैंकको कर्जा असुली प्रभावकारी हुँदा समग्र वित्तीय विवरणमा सुधार
- अघिल्लो आव ०८१/८२ मा ५२ अर्ब ७६ करोड नाफा आर्जन गरेका बैंकले गत आवमा कमाए ७१ अर्ब ६१ करोड
गत आर्थिक वर्ष ०८२/८३ मा २० वटा वाणिज्य बैंकले ७१ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ३५.७३ प्रतिशतले बढी हो । सो आवमा ५२ अर्ब ७६ करोड मात्रै खुद नाफा आर्जन भएको थियो ।
बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र असुल भएको कर्जाको ब्याज वा रकमलाई अघिल्लो आर्थिक वर्षकै नाफा वा आम्दानीमा गणना (समायोजन) गर्न पाउने व्यवस्था छ । सोही सुविधालाई समेत जोडेर शनिबारसम्ममा सबै बैंकहरूले आव ०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेका हुन् । पछिल्लो समय सुस्त आर्थिक क्रियाकलापले बैंकहरूको कर्जा असुली प्रभावित हुँदा नाफामा समेत नकारात्मक असर परेको थियो । यद्यपि, केही बैंकहरूले कर्जा असुलीलाई प्रभावकारी बनाउँदा समग्र वित्तीय विवरणमा सुधार देखिएको हो ।
हिमालय, नबिल, एसबिआई, एनआइसी एसिया, सानिमा र नेपाल बैंकले कर्जाको साँवा–ब्याज असुली बढाएर निष्क्रिय कर्जाको अनुपात घटाएका छन् । जसले गर्दा बैंकहरूको समग्र आम्दानीमा सुधार आउँदा नाफासमेत बढेको हो । अघिल्लो आव ०८१/८२ मा निष्क्रिय कर्जाको अनुपात ७.९७ प्रतिशत रहेकोमा आव ०८२/८३ मा ७.९६ प्रतिशतमा झरेको छ । यसले बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपैयाँबाट बढेर एक अर्ब ४८ करोड तीन लाख रुपैयाँ कायम भएको छ ।
नबिलको निष्क्रिय कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२ प्रतिशतमा कायम भएको छ । खुद नाफासमेत पाँच अर्ब ९२ करोड रुपैयाँबाट बढेर सात अर्ब ९० करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकले कर्जा असुली प्रभावकारी बनाउँदा निष्क्रिय कर्जा ४.५६ प्रतिशतबाट घटाएर ४.१८ प्रतिशत पुर्याएको छ । यसले उसको नाफा तीन अर्ब सात करोडबाट बढाएर चार अर्ब ५० करोड पुर्याएको छ ।
खराब कर्जाले ५ बैंकको नाफामा असर, निष्क्रिय कर्जाको अनुपात ५.१३६५
निष्क्रिय कर्जाको अनुपात बढ्दा पाँचवटा वाणिज्य बैंकको खुद नाफा नै खुम्चिएको छ । आव ०८२/८३ मा कृषि विकास बैंक, लक्ष्मी सन्राइज, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा नै संकुचनमा गएको हो । कृषि विकास बैंकको खुद नाफा एक अर्ब १० करोड रुपैयाँले घटेको छ । आव ०८२/ ८३ मा कृषि बैंकले दुई अर्ब ६३ करोड मात्रै नाफा आर्जन गरेको छ ।
अघिल्लो आवमा तीन अर्ब ७३ करोडसम्म नाफा आर्जन गरेको थियो । यसको निष्क्रिय कर्जा पनि ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ । लक्ष्मी सन्राइजको निष्क्रिय कर्जा ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत कायम छ । चार अर्ब ६ करोडको नाफा खुम्चिएर यो बैंकले गत आवमा तीन अर्ब ११ करोड मात्रै आर्जन गर्न सकेको छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । नाफा पनि चार अर्ब ३३ करोडबाट घटेर दुई अर्ब ७४ करोडमा सीमित छ । प्रभु बैंक त घाटामा गएको छ ।