नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
महाराजगन्जस्थित निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पारे। विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको भन्दै उनले पुनरवलोकनअघि धेरै बोल्न नहुने बताए।
देउवाले लोकतन्त्रमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए। व्यक्तिपूजाभन्दा निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न उनले प्रेसलाई आग्रह गरे।
पाँच महिनापछि स्वदेश फर्किएका देउवाले अब सुदूरपश्चिम, विशेष गरी गृहजिल्ला डडेल्धुरा जाने इच्छा रहेको बताए। सुदूरपश्चिमले आफूलाई धेरै माया दिएको उल्लेख गर्दै उनले डडेल्धुराको विमानस्थल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता पनि जनाए।