मिथिलाको अनुपम उत्सव मधुश्रावणी

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

‘सखी फूल लोढय चलु फुलवरिया,
सीताके संग सहेलियाँ,
कोइ बेली फूल लोढे, चमेली फूल लोढे,
कोइ लोढेला चम्पा के कलिया,
सीता के संग सहेलियाँ...’ 

यस्ता परम्परागत गीत गाउँदै जब मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरू समूहमा निस्किन्छन्, तब सिंगो मिथिला क्षेत्र नै उत्सवमय बन्ने गर्छ । मिथिलाञ्चलका नवविवाहिताले हर्षोल्लास र धूमधामका साथ मनाउने मधुश्रावणी पर्वको रौनकले अहिले मिथिला क्षेत्र झुमेको छ । मधेश प्रदेशको प्राचीन क्षेत्र मिथिलामा गत सोमबारदेखि सुरु भएको यो पर्व १३औँ दिनमा समापन हुनेछ ।

अहिले मिथिलाका प्रत्येकजसो बस्ती मधुश्रावणीको रङमा रमेका देखिन्छन् । श्रावण कृष्ण पञ्चमीदेखि सुरु भई श्रावण शुक्ल द्वितीयासम्म मनाइने यो पर्व मिथिलाञ्चलका विशेषगरी कायस्थ, ब्राह्मण, सोनार र देव जातिका नवविवाहिता महिलाले श्रद्धा र उत्साहका साथ मनाउने गर्छन् । 

मिथिलाञ्चलको अनुपम सांस्कृतिक पर्व मधुश्रावणी नवविवाहिता मिथिलानीका लागि दाम्पत्य जीवनलाई सुमधुर बनाउने एक विशेष र अन्तरंग उत्सव भएको मैथिली अभियन्ता श्यामसुन्दर यादव बताउँछन् । यस पर्वको अवधिमा सखीसहेलीको जमघट केवल पूजाआजा र लोकगीतमा मात्र सीमित रहँदैन, यो नववधूका लागि आफ्ना मनोभाव साट्ने आत्मीय चौतारी पनि बन्न पुगेको उनले बताए । 

सखीहरूका बिच भर्खरै सुरु भएको दाम्पत्य जीवनका मिठा कुतूहल, श्रीमान्ले देखाउने माया, हेरचाह अनि रतिरागसम्मका अनुभव सहज रूपमा साटासाट हुन्छन् । बेहुली भएर पतिको घर गएदेखि मधुश्रावणी मनाउन माइत फर्किंदासम्मका अन्तरंग क्षण, जब व्रतालुले आफ्ना सहेलीसामु पोख्छिन्, तब विवाहयोग्य उमेर पुगेका अन्य सहेलीमा जाग्ने कुतूहल र उत्साहको मापन गर्न असम्भवप्रायः हुन्छ । मैथिली अभियन्ता श्यामसुन्दर यादव भन्छन्, ‘यो कुराको अनुमानले मात्र पनि जोकसैलाई रोमाञ्चित बनाउँछ ।’

यो पर्वमा नवविवाहिताले नागपञ्चमीसम्बन्धी कथा सुन्नुका साथै नागको अर्थात् विषहरको पूजा गर्ने गर्छन् । पति प्रेम बढोस् र पतिप्रति आदरभाव तथा आशीर्वाद लागोस् भनी यो पर्व अवधिभर शिवगौरी, विषहरा, शिवलीला तथा भागवतको कथा सुनाउने गरिन्छ । यो पर्व माइतमै मनाउने प्रचलन रहे पनि आजभोलि यो पर्व ससुराल (पतिको घर) मा समेत मनाउन थालिएको छ ।

यो पर्वको विशेषता भनेको विषहराको पूजा बासी फूल र पातबाट गर्नुपर्छ र पूजा अवधिभर नवविवाहिताले खानेकुरा सबै ससुरालीबाट आउनुपर्ने हुन्छ । सोही कारण ससुरालीबाट नवविवाहिताका लागि पूजा अवधिभरका लागि सबै सामान जोहो गरी पठाइने गरिन्छ । श्रावणको झरी, कालो बादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको शृंगारपटारलगायत दृश्यले कामोत्तेजना बढाएको मानिने र यस पर्वमा जतिसुकै टाढा भए पनि पति आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुनको पर्व पनि भन्ने गरिन्छ । नवविवाहिता महिलालगायत छरछिमेकका साथीहरू गीत गाउँदै गाउँबाहिर स्वच्छन्द भई घुम्ने गर्छन् । कहिले पनि घरबाहिर ननिस्कने महिलाहरूसमेत पूजा अवधिभर साथीहरूसँग गफिँदै गीत गाउँदै बाहिर घुम्ने गर्छन् । 

पतिको घरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग नै बनेको राजविराजकी रश्मी कर्ण बताउँछिन् । उनी भन्छिन्, ‘पतिकै घरबाट आएका वस्त्र, शृंगार, पूजाका सामग्री र खानपिनका परिकारमा निर्भर रहेर माइतीमा यो व्रत बस्दा एकातिर दुई परिवारबिचको सम्बन्ध थप प्रगाढ बन्छ भने अर्कोतिर दैनिक बेलपत्र र बासी फूलले नागदेवता (विषहरा) तथा शिवपार्वतीको पूजा गरी लोककथा सुन्ने परम्पराले हाम्रा भावी सन्ततिलाई प्रकृति र मिथिला संस्कृतिसँग जोड्ने काम गर्छ ।’ अन्तिम दिन टेमी दागिने परम्परा र सामूहिक गीतसंगीतले यस पर्वलाई मिथिलाका अन्य पर्वभन्दा पृथक्, पवित्र र विशिष्ट बनाएको उनी बताउँछिन् ।

यो पर्व टेमी (आगोले पोल्ने कार्य) दिएर सकिन्छ । महिलाहरूलाई अग्नि परीक्षा स्वरूप घुँडामा टेमी दिइन्छ र जति ठुलो फोका उठ्छ, त्यति बढी नै पतिप्रति माया र पतिको दीर्घायु हुन्छ भन्ने मान्यता रहेको छ । 

कला, साहित्य, संस्कृति, खानपान, पकवानले भरिपूर्ण मिथिला संस्कृति आफैँमा रोचक र मनमोहक छ । मिथिला संस्कृतिअन्तर्गत मनाउने पर्व मधुश्रावणीको गरिमा र महिमा आफैँमा महान् छ । यसले एकातिर संस्कृति संरक्षणमा सहयोग पुर्याउँछ भने अर्कोतर्फ दाम्पत्य जीवनको आधारशिलालाई बलियो, रसिलो र कसिलो बनाउन मद्दत पुग्ने जनविश्वास छ ।

यस पर्वको माध्यमबाट दाम्पत्य जीवनको भावनात्मक र शारीरिक सम्बन्धलाई मजबुत बनाइन्छ । साउनको समय मधुपञ्चसम्म हुने गरेकाले यसलाई काम पर्व पनि भन्ने गरिन्छ । यसको आफ्नै विधिविधान छ । यसमा गाइने गीत, सुनाइने कथाले मधुश्रावणी परम्परागत हनिमुन हो भन्ने झल्काउँछ । 

यस पर्वमा फूलको बढी महत्व हुन्छ । बेहुली आफ्ना कन्या साथीसँग फूल टिपेर आफ्नो प्रेमको उल्लास देखाउँछिन् । दुलहीले ससुरालीबाट ल्याएको साडी, लहठी, शृंगारका सामान र वस्त्र लगाउँछिन् । ससुरालीबाट ल्याइएको पूजा सामग्री सजाउँछिन् । पूजाको आसनमा बस्नुभन्दा पहिले कुलदेवतालाई आराधना गरी भगवतीको गीत श्रवण गर्ने गरिन्छ । भगवतीको गीतपछि पार्वतीको गीत, विषहरा नाग देवताका गीत र अन्य विधिविधानका गीत सुन्छन् ।

विभिन्न किसिमका मन्त्र उच्चारण गरी चन्द्र, सूर्यलगायत सम्पूर्ण ग्रहको पनि पूजा गरिन्छ । तत्पश्चात् नागपूजा सुरु हुन्छ । नागपूजाका साथसाथै अन्य चनाइ, कुसमातिक, पिंगला, लिली, शतभागिणी, संदिक पूजा आदिमा विभिन्न किसिमका प्रेरणादायी कथाको वर्णन हुन्छ । कथामा खास गरेर सती, पृथ्वीको जन्म, समुद्र मन्थन, पतिव्रता, धर्मको महत्व, गंगा, पार्वतीलगायतको चर्चा हुन्छ । मधुश्रावणी कथाका क्रममा असंख्य गीत महिलाले गाउँछन् ।

आगोले पोल्ने टेमीलाई भने संक्षिप्त परीक्षण, प्रेमको मापदण्ड, सहनशीलताको जटिल परीक्षाका रूपमा पनि लिने गरिन्छ । त्यही भएर होला मधुश्रावणी मैथिली संस्कृतिको अत्यन्त सार्थक, रोमाञ्चक र मनमोहक पर्वको रूपमा पनि मनाउने गरिन्छ ।

अन्तिम दिन महिलालाई आगोले पोल्ने ‘टेमी’ दागिनेजस्ता कठोर परम्परालाई समयसापेक्ष परिमार्जन गर्दै यसको मौलिकता, लोकगीत र कथावाचनको परम्परालाई जोगाउनु मिथिलाको जीवन्त लोकसंस्कृतिको संरक्षणका लागि आवश्यक देखिन्छ । यस्ता अन्धविश्वासजन्य पक्षलाई सुधारेर सांस्कृतिक र शिक्षणमूलक महिमालाई निरन्तरता दिन सके मात्र मधुश्रावणीको गरिमा अझ उँचो बन्नेछ ।

See More On

सुझावित समाचार