टिचिङमा बेड नपाएर बिरामीको मृत्यु

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुर्याइएका एक बिरामीको बेड नपाएर मृत्यु भएको छ । शुक्रबार साँझ करिब ५:१५ बजे अस्पतालमा पुर्याइएका मोरङ घर भएका ४५ वर्षीय डोलबहादुर थापाको मृत्यु भएको हो ।

बिरामीका आफन्तका अनुसार बेड नै नभएको भन्दै अस्पतालले एम्बुलेन्सबाट बिरामीलाई झार्नै मानेन । इमर्जेन्सीको अगाडि करिब २५ मिनेट एम्बुलेन्समै राखिएका थापाको अन्ततः बेड कुर्दाकुर्दै मृत्यु भयो । 

इमर्जेन्सीमा बेड नभएको भन्दै अस्पतालका एकजना चिकित्सकले एम्बुलेन्समै गएर बिरामीलाई हेर्न खोज्दा बिरामीको मृत्यु भइसकेको थियो । मिर्गौला फेल भएका उनले नियमित डायलाइसिस गराउँदै आएका थिए । स्ट्रोकको समस्या देखिएपछि टिचिङमा लगिएको थियो । त्यहाँ पुर्याउँदासम्म उनलाई हृदयाघातसमेत भएको थियो । घटनापछि आफन्तले नाराबाजी गरेका थिए । 

इमर्जेन्सीमा ९० बेड सबैमा बिरामी रहेकाले ती बिरामीलाई राख्न नसकिएको अस्पताल प्रशासनले दाबी गरेको छ । ‘हामीकहाँ उपचारका लागि आउनुभएको थियो, तर बेड थिएन । इमर्जेन्सीमा ९० बेडमा बिरामी थिए । अरूलाई हटाएर राख्ने कुरा पनि भएन,’ अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले भने, ‘बिरामीका आफन्तहरू हामीलाई बेड चाहियो भन्दै आउनुभएको थियो, तर बेड मिलाउन सक्ने अवस्था भएन । अरु अस्पताल लैजानुस् समेत भनेका थियौँ कुरा गर्दागर्दै बिरामीको एम्बुलेन्समै मृत्यु भइहाल्यो ।’ 

सुझावित समाचार