रोशी गाउँपालिकामा हाई–क्यास परियोजना सम्झौता

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानका लागि सञ्चालन भइरहेको इन्टिग्रेटेड क्लाइमेड एडप्सन सोलुसन फर दि हिन्दू कुश हिमालय (हाइ क्यास) परियोजना रोशीमा सन्चालन हुने भएको छ।

बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का निर्देशक पेमा ग्याम्चो र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जय मुकुन्द खनालले परियोजनाको आशयपत्रमा हस्ताक्षर गरेर त्रिपक्षीय सम्झौता भएको हो।

इसिमोडले सन्चालन गरेको हाई–क्यास परियोजना सन्चालन हुने गाउँपालिका र कार्यान्वयन गर्ने संस्था सिप्रेडबीच त्रिपक्षीय सम्झौता भएको हो। ग्लोबल अफेयर्स क्यानडाको सहयोगमा सञ्चालित हाइ क्यास परियोजना इसिमोडको नेतृत्वमा सिप्रेडसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। परियोजनाले लैङ्गिक उत्तरदायी, समावेशी तथा प्रकृतिमैत्री जलवायु अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय, जीविकोपार्जन, पारिस्थितिक प्रणाली तथा कृषि जैविक विविधताको उत्थान गर्ने लक्ष्य राखेको छ।

परियोजना धनकुटा नगरपालिकासँग पनि भएको थियो। नेपालमा हाइ क्यास परियोजना मार्च २०२६ देखि सञ्चालनमा छ। परियोजना काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र धनकुटा नगरपालिकामा सिप्रेडमार्फत कार्यान्वयन भइरहेको छ। परियोजनाअन्तर्गत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, मुहान संरक्षण तथा व्यवस्थापन, नवीकरणीय ऊर्जा र कृषि जैविक विविधता संरक्षणलाई एकीकृत गरी स्थानीय रूपमा पहिचान भएका जलवायु जोखिम सम्बोधन गरिने जनाइएको छ।

समझदारीपत्रले परियोजना कार्यान्वयनमा सम्बन्धित निकायबीच सहकार्य र समन्वयलाई औपचारिक बनाउने तथा स्थानीय तहका योजना, कार्यक्रम, प्राथमिकता र बजेटसँग परियोजनाका गतिविधिलाई जोड्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय स्वामित्व, दिगोपना र प्रभावकारी जलवायु अनुकूलनका अभ्यासलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले परियोजना सन्चालनको लागि इसिमोडले आफ्नो क्षेत्रलाई छानेकोमा धन्यवाद व्यक्त गरे। त्यसरी नै इसिमोडका महानिर्देशक पेमा ग्याम्चोले स्वागत मन्तव्य तथा हाई–क्यास परियोजनाका वरिष्ठ परियोजना संयोजक जेसिका फुलवुड थोमसले परियोजनाबारे जानकारी प्रस्तुत गरेका थिए।

समझदारीपत्रमा हस्ताक्षरपछि परियोजनाका साझेदारबीच भूमिका र जिम्मेवारी स्पष्ट हुनुका साथै जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, मुहान संरक्षण, कृषि जैविक विविधता तथा समावेशी विकासका क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धि र सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
 

सुझावित समाचार