हायर पर्चेज कर्जामा बढीमा एक प्रतिशत सेवा शुल्क

कम्पनी सञ्चालकको योग्यता तोकियो

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

अब हायर पर्चेज कर्जा दिने कम्पनीले एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

साबिकको व्यवस्थामा ब्याजबाहेक अन्य शुल्क लिन नपाइने नियम रहेकोमा नयाँ व्यवस्थाअनुसार कर्जा स्वीकृत गर्दा स्वीकृत कर्जाको अधिकतम एक प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाइने भएको हो । तर, अन्य संस्था वा निकायमार्फत सेवा लिनुपर्ने सन्दर्भमा भने परेको वास्तविक लागतभन्दा बढी नहुने गरी सेवा शुल्क असुल गर्न सकिनेछ । त्यस्तै, ढिलाइ भएमा लाग्ने पेनाल ब्याजको दर वार्षिक दुई प्रतिशत विन्दुभन्दा बढी नहुने गरी सम्झौतामा उल्लेख गर्नुपर्नेछ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा विलम्ब भएको समयावधिका लागि मात्र हिसाब गर्न पाइनेछ र पेनाल ब्याजमाथि थप ब्याज लिन पाइनेछैन । ब्याजदरसम्बन्धी नयाँ नियम यो व्यवस्था जारी भएपछि प्रवाह हुने नयाँ कर्जामा मात्र लागू हुनेछ ।

कम्पनी सञ्चालन र नवीकरणसम्बन्धी नियमअनुसार राष्ट्र बैंकले दिएको स्वीकृति प्रत्येक दश आर्थिक वर्ष समाप्त भएपछि साउन मसान्तसम्म नवीकरण गराइसक्नुपर्नेछ । तर, पहिले नै स्वीकृति पाइसकेका कम्पनीहरूको हकमा भने पूर्वनिर्धारित मितिमा नवीकरण भएपछि मात्र यो १० वर्षे समयावधि लागू हुनेछ । नवीकरणका लागि दुई लाख रुपैयाँ दस्तुर राष्ट्र बैंकमा जम्मा गरेको सक्कल भौचरसहित म्यादभित्र निवेदन दिनुपर्नेछ । नवीकरण गर्दासमेत संस्थापक तथा सञ्चालकको फिट एन्ड प्रपर टेस्टपछि मात्र स्वीकृति प्रदान गरिने नयाँ व्यवस्थामा उल्लेख छ । 

कम्पनीको २५ प्रतिशतभन्दा बढी सेयर लिएका व्यक्तिको मृत्यु भएमा वा अंशबन्डा भएमा हकदारको नाममा नामसारी गरी १५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ । साथै, चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको सेयर खरिद–बिक्री वा नामसारी भएको १५ दिनभित्र पनि राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । यस्ता सेयर धारण गर्ने व्यक्तिहरू ‘फिट एन्ड प्रपर टेस्ट’बमोजिम योग्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले अब हायर पर्चेज कम्पनीहरूले कुनै एउटा मात्र ब्रान्डको नभई विभिन्न ब्रान्डका सामान तथा सवारीसाधनमा अनिवार्य लगानी गर्नुपर्ने र त्यसको जानकारी वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरेको छ । कम्पनीहरूले आफ्नो खुद सम्पत्तिको १० गुणाभन्दा बढी ऋण वा सापटी लिएर कर्जा प्रवाह गर्न पाउनेछैनन् । राष्ट्र बैंकबाट प्राप्त अनुमति प्रत्येक १० आर्थिक वर्ष सकिएपछि साउन मसान्तभित्र दुई लाख रुपैयाँ दस्तुर बुझाएर नवीकरण गराउनुपर्नेछ । आवश्यकताअनुसार सम्पर्क कार्यालय खोल्न सकिने भए पनि सोको जानकारी १५ दिनभित्र राष्ट्र बैंकलाई दिनुपर्नेछ । कम्पनीको नियमावली संशोधन भएमा सात दिनभित्र र २५ प्रतिशतभन्दा बढी सेयर नामसारी, खरिद–बिक्री वा अंशबन्डा भएमा १५ दिनभित्र राष्ट्र बैंकको सुपरिवेक्षण विभागलाई बुझाउनुपर्नेछ ।

कम्पनीका संस्थापक तथा सञ्चालकको योग्यता निर्धारणका लागि विशेष मापदण्ड तोकिएको छ । २१ वर्ष उमेर नपुगेका, मानसिक सन्तुलन ठीक नभएका, कर चुक्ता नगरेका, साहुको दामासाही वा टाट पल्टिएका व्यक्ति सञ्चालक हुन पाउनेछैनन् ।

सुझावित समाचार