हेटौँडाबाट खैरो हेरोइनसहित तीनजना पक्राउ

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–४ की २० वर्षीया तनिषा देउला, सोही स्थानका २४ वर्षीय अनिष चौलागाईं र चितवनको रत्ननगर नगरपालिका–२ का १९ वर्षीय लोमस फुयाँल रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सोमबार दिउँसो बुद्धचोकमा अस्थायी प्रहरी पोस्ट थानाभर्याङबाट खटिएको टोलीले उनीहरूलाई शंकाका आधारमा नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। सो क्रममा उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद पदार्थसहित तीनैजनालाई नियन्त्रणमा लिएर लागूऔषध कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सुझावित समाचार