सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सातबुँदे सहमति भएको छ।

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबिच आज भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।

सहमतिमा साउन १० गते राति देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ। यस्तै, देवानगन्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा सरकारले मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ । घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ ।

त्यसैगरी, नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगन्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको छ ।
घटनामा मृत्यु भएका तीनजनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ ।

सुझावित समाचार