टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण
  • आठबुँदे निर्देशन जारी गर्दै दूरसञ्चार प्राधिकरणले भन्यो–फोरजीको गुणस्तर सुधारेर फाइभजी सञ्चालनको योजना पेस गर्नू

दूरसञ्चार प्राधिकरणले दिएको मुख्य निर्देशन

  • गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रहरू पहिचान गरी प्राथमिकताका साथ नेटवर्क विस्तार गर्नु
  • फोरजी सेवा विस्तार गर्नु
  • औद्योगिक र मुख्य सहरी क्षेत्रमा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड
  • सेवाको गुणस्तर (क्युओएस), नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गर्नु
  • २४सै घण्टा गुनासो सुनुवाइका लागि कृत्रिम बुद्धिमत्ता (एआई)सहितका आधुनिक प्रविधिको प्रयोग गर्नु
  • ग्राहक सन्तुष्टि सर्वेक्षण नियमित सञ्चालन गरी त्यसका आधारमा सुधारात्मक कदम चाल्नु
  • दूरसञ्चार पूर्वाधारको प्रयोगमार्फत दोहोरो लगानी घटाएर लागत घटाउनु
  • साइबर सुरक्षा, नेटवर्क सुरक्षा, विपत् व्यवस्थापन तथा व्यवसाय निरन्तरता योजना तयार गर्नु

दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकम र एनसेललाई निर्देशन दिएको छ । प्राधिकरणले मोबाइल सेवाको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो बढेपछि त्यसलाई सुधार गर्न{ सेवाप्रदायकलाई निर्देशन दिएको हो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम टेलिकम र एनसेलसहितका मोबाइल सेवाप्रदायकलाई सेवा गुणस्तर, नियामकीय अनुपालन, उपभोक्ता हित संरक्षण तथा नयाँ प्रविधिको विस्तारका विषयमा आठबुँदे निर्देशन जारी गरेको हो ।

प्राधिकरणले गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रहरू पहिचान गरी प्राथमिकताका साथ नेटवर्क विस्तार गर्न, फोरजी सेवा विस्तार र गुणस्तर वृद्धि गर्न तथा औद्योगिक र मुख्य सहरी क्षेत्रमा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गर्न निर्देशन दिएको हो । ‘देशभर फोरजी सेवा विस्तार एवं गुणस्तर वृद्धि गर्ने र प्रमुख सहहरूमा फाइभजी सेवा प्रारम्भका लागि चरणबद्ध योजना बनाई प्राधिरकणसमक्ष पेस गर्ने,’ निर्देशनमा उल्लेख छ ।

प्राधिकरणले सेवाको गुणस्तर (क्युओएस), नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गर्न र प्राधिकरणले तोकेको मापदण्ड पूरा भए–नभएको सम्बन्धी प्रतिवेदन अनिवार्य रूपमा प्राधिकरणसमक्ष पेस गर्नसमेत निर्देशन दिएको छ । उपभोक्ता सेवामा सुधार गर्न ग्राहक सहायता प्रणालीलाई प्रविधिमैत्री बनाउन पनि प्राधिकरणले निर्देशन दिएको छ । सेवाप्रदायकले उपभोक्ता बडापत्र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, २४सै घण्टा गुनासो सुनुवाइका लागि कृत्रिम बुद्धिमत्ता (एआई)सहितका आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने तथा ग्राहक सन्तुष्टि सर्वेक्षण नियमित सञ्चालन गरी त्यसका आधारमा सुधारात्मक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

प्राधिकरणले रेडियो फ्रिक्वेन्सीजस्तो सीमित राष्ट्रिय स्रोतको अधिकतम उपयोग गर्न पनि जोड दिएको छ । वितरण गरिएको फ्रिक्वेन्सीको प्रभावकारी प्रयोग गर्नुपर्ने तथा दूरसञ्चार पूर्वाधारको साझा प्रयोगमार्फत दोहोरो लगानी घटाएर लागत कम गर्न र सेवा विस्तारलाई सहज बनाउन निर्देशन दिइएको छ ।

यसैगरी, प्राधिकरणबाट अनुदान प्राप्त परियोजनाका लागि स्पष्ट कार्यतालिका, प्रगतिका सूचक र समयसीमा निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्न तथा नियमित प्रगति प्रतिवेदन बुझाउन भनिएको छ । बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै साइबर सुरक्षा, नेटवर्क सुरक्षा, विपत् व्यवस्थापन (डिजास्टर रिकभरी) तथा व्यवसाय निरन्तरता योजना तयार गरी लागू गर्न पनि सेवाप्रदायकलाई निर्देशन दिइएको छ ।

शुल्क व्यवस्थापनतर्फ पनि प्राधिकरणले लागतमा आधारित, वैज्ञानिक र पारदर्शी शुल्क निर्धारण प्रणाली अपनाउन आग्रह गरेको छ । बजारको माग, प्रविधिगत विकास र उपभोक्ताको आवश्यकताअनुसार सेवाका शुल्कको नियमित समीक्षा गरी आवश्यक प्रस्ताव प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

See More On

सुझावित समाचार