काठमाडौंको इन्द्रचोकमा कपडाको पोको बोकेर राणादरबार धाउने भुरमलदास चौधरीका नाति विनोद चौधरीले विश्वभर दुई सयभन्दा बढी व्यवसाय खडा गरे । उनले वाइवाई चाउचाउलाई विश्वबजारमा पुर्याए । यो कथा अब एउटा घरानाको सफलतामा मात्र सीमित रहेन, नेपालजस्तो अस्थिर राजनीतिक र अल्पविकसित देशमा जन्मेहुर्केका व्यक्तिले पनि बहुराष्ट्रिय कम्पनी खडा गर्न सक्छन् भन्ने यो उदाहरण बनिसकेको छ ।
फोब्र्सको सूचीमा परेका नेपालका एक मात्र अर्बपति विनोद चौधरीको पुस्तक ‘मेड इन नेपाल ः लेसन्स इन बिजनेस बिल्डिङ फ्रम द ल्यान्ड अफ एभरेस्ट’ हालै प्रकाशित भएको छ । यो पुस्तक उनको व्यावसायिक यात्रा, पारिवारिक सुख–दुःख, वैदेशिक लगानीका संघर्ष र राजनीतिक भोगाइको इमानदार समीक्षा हो ।
पुस्तकको सुरुवात चौधरी घरानाको इतिहास खोतल्दै हुन्छ । १९औँ शताब्दीको अन्त्यतिर भारतको राजस्थानबाट भुरमल नेपाल छिरेका थिए । उनले जुद्ध सडक (न्युरोड) मा सानो कपडा पसल सुरु गरे । पछि उनका बुबा लुनकरण दासले अरुण एम्पोरियम खोले । विनोद चौधरी आफैँले केही समय डिस्कोथेक चलाए । यी संघर्षका क्षणहरू पुस्तकमा रोचक ढंगले उतारिएका छन् ।
बुबाको स्वास्थ्य बिग्रिएपछि उनले किशोरावस्थामै व्यापारको बागडोर सम्हाल्नुपर्यो । आफ्नै साझेदारहरूले गरेका छलछामलाई रणनीतिक रूपमा परास्त गर्न उनी सफल भए । कठिन मोडहरू पार गर्दै जाँदा उनले व्यावसायिक अनुशासन र समयको सही सदुपयोग गर्ने महत्वपूर्ण पाठ सिके ।
उद्यमशीलतामा रुचि राख्नेहरूका लागि यो पुस्तक मार्गदर्शन हो भने नेपालको अर्थराजनीतिक अवस्था बुझ्न चाहने सर्वसाधारणका लागि आँखा खोलिदिने कृति हो
मागीविवाह तोडेर प्रेमविवाह
व्यापारिक जीवनका उकाली–ओरालीबाहेक लेखकले पारिवारिक जीवनका भावुक क्षण पनि इमानदारीका साथ व्यक्त गरेका छन् । अर्कै केटीसँग छिनेको मागी विवाह तोडेर उनले मारवाडी समुदायबाहिरकी लीला शर्मासँग प्रेमविवाह गरे । त्यस क्रममा परेको पारिवारिक अड्चन, गुह्येश्वरीमा सुटुक्क सिन्दुर हालेको क्षण र दिल्लीको विवाहको प्रसंग रोचक छ । अन्तरजातीय विवाहका कारण समाज र परिवारबाट आएको असहमतिलाई उनले धैर्यताका साथ पार लगाए ।
विवाहलगत्तै जन्मिएकी पहिलो सन्तान छोरीको निधन भयो । त्यो पीडादायी सत्य अस्पतालको शड्ढयामा रहेकी श्रीमतीबाट १० दिनसम्म लुकाउनुपरेको थियो । श्रीमतीको प्रश्न र आफूले भोगेको छटपटीलाई उनले मर्मस्पर्शी रूपमा उतारेका छन् । पछि निर्वाण, राहुल र वरुणको जन्मपछि परिवारमा खुसी फर्किएको थियो ।
वाइवाईको जन्म र विश्वव्यापी विस्तार
वाइवाईको जन्म र विस्तारको कथा नवउद्यमीका लागि पुस्तकको सबैभन्दा प्रेरणादायी भाग हो । आफ्नै मैदा मिलको थप मैदा प्रयोग गर्ने उपाय खोज्दा उनले चाउचाउको सम्भावना देखेका थिए । त्रिभुवन विमानस्थलको ट्रलीमा थाइल्यान्डबाट आएका चाउचाउका कार्टुनले उनलाई आकर्षित गर्यो । थाइल्यान्डको कम्पनीसँग मिलेर सन् १९८५ मा वाइवाई उत्पादन सुरु भयो । यसले तत्कालीन समयमा बजारमा रहेका नेपाली ब्रान्ड रारा र भारतीय चाउचाउ म्यागीलाई उछिन्दै नेपाली भान्सामा एकछत्र राज ग¥यो ।
नवलपरासीको दुम्कौलीमा विशाल उद्योग ग्राम स्थापना गरियो । पछि प्रतिस्पर्धीहरूले ‘प्राइस वार’ गर्दा उनले ‘गोलमोल’ र ‘मामा’जस्ता सस्ता ब्रान्ड ल्याए । हिराको उपहार योजना पनि सुरु गरे । यसरी आफ्नो बजार जोगाएको प्रसंग व्यवस्थापन अध्ययन गर्नेहरूका लागि अनुकरणीय बन्न सक्छ ।
नेपालमा जमेपछि, कानुनको प्रतिबन्धका बाबजुद सिंगापुरमा ‘सिनोभेसन’ सुरु गरेको चर्चा पुस्तकमा छ । उनले भारतमा अध्ययनरत नेपाली विद्यार्थीलाई ब्रान्ड एम्बेसडर बनाएका थिए । त्यसपछि सिक्किम, रुद्रपुर, असम, आन्ध्रप्रदेश र बिहारमा फ्याक्ट्री खोलिए ।द्वन्द्वकालमा दुम्कौलीस्थित उद्योगमा बम विस्फोट भयो, वरिष्ठ प्रबन्धक जयन्द्र चुडाल अपहरणमा परे । तर, उद्योग बन्द भएन । गृहयुद्धका वेला जंगलमा रहेका माओवादी र राज्यका सुरक्षाकर्मी दुवैका लागि भोक मेटाउने मुख्य सहारा वाइवाई नै बन्यो ।
यसपछि दुबई, बंगलादेश र सर्बियासम्म फ्याक्ट्री विस्तार गरिए । सर्बियाका राष्ट्रपति अलेक्ज्यान्डर वुसिकसँगको वार्ता र इन्डोनेसियाली ब्रान्डसँगको प्रतिस्पर्धा पार गर्दै युरोपमा वाइवाई पुर्याएको कथा पुस्तकमा रोचक ढंगले बताइएको छ । आज वाइवाई ४६ भन्दा बढी देशमा पुगेको छ र यसले विश्व चाउचाउ बजारको ३ प्रतिशत सेयर ओगटेको छ । अब भारतीय सेयरबजारमा सूचीकृत हुने र युरोपेली मुख्यालय बेल्ग्रेडमार्फत अघि बढ्ने उनको लक्ष्य रहेको पुस्तकमा उल्लेख छ ।
सत्ताको कोपभाजनदेखि जनआन्दोलनसम्म
पुस्तकको राजनीतिक खण्डमा विनोद चौधरीले आफ्नो पञ्चायतकालदेखिको राजनीतिक अनुभव, दरबारसँगको उतारचढावपूर्ण सम्बन्ध र वर्तमान नेपाली राजनीतिको ऐना उतारेका छन् । सन् १९७९ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई सहयोग गरेकै कारण लोकेन्द्रबहादुर चन्द सरकारको राजनीतिक प्रतिशोधको सिकार भई उनका योजनाहरू रद्द गरिएका थिए । सरकारको पेलानबाट बच्न उनले पूर्वराजकुमार धीरेन्द्र शाहको शरण लिँदै ‘अपोलो स्टिल’मा साझेदारी गरे । तर, धीरेन्द्रले दरबार छाडेपछि उनकी श्रीमती प्रेक्षा शाहसँगको कानुनी लडाइँले उनलाई पुनः खतरामा पार्यो ।
पूर्वराजकुमार धीरेन्द्र शाहसँग अपोलो स्टिलको सेयरबारे भएको कानुनी विवादका कारण दरबार र तत्कालीन मरिचमान सिंह सरकारको कोपभाजनमा परेपछि उनी सुरक्षाका लागि कृष्णप्रसाद भट्टराई (किसुनजी)को सल्लाहमा २०४६ को जनआन्दोलनमा होमिएका थिए । यसरी २०४६ को जनआन्दोलनमा कृष्णप्रसाद भट्टराई र कांग्रेसलाई खुला सहयोग गरेर उनी तत्कालीन सत्ताको कोपभाजनबाट जोगिएका थिए ।
प्रजातन्त्र पुनर्बहालीपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका उनले पछि करदाता र उद्योगीका मुद्दा उठाउन नेपाल उद्योग परिसंघको स्थापना गरे । २०४६ पछि नेपालका शीर्ष राजनीतिक नेतृत्वसँग आफ्नो सम्बन्ध कसरी विस्तार भयो र त्यसले देशको आर्थिक नीतिमा कस्तो प्रभाव पा¥यो भन्ने प्रसंगलाई उनले रोचक ढंगले उप्काएका छन् ।
अन्तरिम सरकारका प्रधानमन्त्री किसुनजीसँगको निकटतालाई लेखकले विशेष रूपमा स्मरण गरेका छन् । ब्लु स्टार होटेलको एक कार्यक्रममा सार्वजनिक रूपमै चौधरी परिवारको प्रशंसा गरेका किसुनजीले उनलाई प्रायः ‘विनोद, तिमी मेरो आर्थिक सल्लाहकार बन्नुपर्छ’ भन्ने गर्थे । किसुनजीकै कार्यकालमा तत्कालीन मन्त्रीहरू नीलाम्बर आचार्य र महेन्द्रनारायण निधिको सिफारिसमा उनी नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य बनेका थिए ।
भारतसँगको आर्थिक सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन निजी क्षेत्रको प्रतिनिधिमण्डल दिल्ली जाने भएपछि लेखकले भारतीय प्रधानमन्त्री चन्द्र शेखरलाई भेट्ने योजना बनाए । किसुनजीलाई यो कुरा भन्नासाथ उनले तुरुन्तै भारतीय समकक्षीका नाममा पत्र लेखेर चौधरीको हातमा थमाए र आफ्ना स्वकीयसचिवको नम्बर दिँदै भने, ‘दिल्ली पुगेर किसुनजीको पत्र छ भन्नू, भेट भइहाल्छ ।’ नभन्दै, दिल्लीमा किसुनजीको नामले जादुको काम गर्यो । नेपाली निजी क्षेत्रको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्रीसँग भेट गरेको त्यो पहिलो ऐतिहासिक क्षण थियो । यसले दुई देशबिचको आर्थिक विश्वास पुनस्र्थापित गर्न ठुलो भूमिका खेलेको उनी पुस्तकमा सम्झिन्छन् ।
२०४८ को आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि पनि लेखकको राजनीतिक पहुँच कायम नै रह्यो । विराटनगरमा व्यापार सम्हाल्दा सन् १९७८ देखिकै गिरिजाबाबुसँग उनको पुरानो सम्बन्ध थियो । प्रधानमन्त्री छँदा गिरिजाबाबुले उद्योग, वाणिज्य र अर्थतन्त्रका विषयमा निरन्तर चौधरीको सल्लाह लिन्थे । गिरिजाबाबुको पहिलो भारत भ्रमणमा निजी क्षेत्रको नेतृत्व गर्दै भारतीय उद्योगीहरूसँगको एजेन्डा तय गर्ने जिम्मेवारी चौधरीकै काँधमा थियो । उनी गिरिजाबाबुसँग इजरायल, फिनल्यान्ड, इजिप्ट र जर्मनीसम्मका भ्रमणमा पनि सामेल भए ।
तर, शक्ति र निकटतासँगै बालुवाटारभित्रै दरबारिया षड्यन्त्र पनि सुरु भयो । प्रधानमन्त्रीले अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षभन्दा बढी विश्वास चौधरीमाथि गर्न थालेपछि कांग्रेसभित्रका केही नेताहरू उनीहरूबिच दूरी बढाउन सक्रिय भए । अन्ततः वायुसेवा निगमको बोर्डसम्बन्धी विवाद सतहमा आएपछि गिरिजाबाबु र चौधरीबिचको सम्बन्धमा पूर्णविराम लाग्यो । कांग्रेस वृत्तबाट टाढा धकेलिएपछि नै उनी नेकपा (एमाले)सँग नजिकिन पुगेका थिए ।
सन् १९९४ मा मनमोहन अधिकारीको सरकार बन्दा बिबिसीसँगको अन्तर्वार्तामा चौधरीले ‘नेपालका कम्युनिस्टहरू उदार नीतिमा जान्छन्, तर्सिनुपर्दैन’ भनेका थिए । यो अभिव्यक्तिले उनलाई एमालेसँग नजिक बनायो । पछि सन् २००८ को पहिलो संविधानसभामा एमालेले उनलाई समानुपातिक कोटाबाट सभासद् बनायो । अन्तर्राष्ट्रिय मिडियाले उनलाई ‘अर्बपति कम्युनिस्ट’ भने पनि उनले आफू कहिल्यै कम्युनिस्ट नभएको र खुला अर्थतन्त्रको रक्षाका लागि मात्र संसद् छिरेको स्पष्ट पारेका छन् ।
तर राजनीतिमा उनले लगातार धोका पाए । सन् १९९९ मा एमालेले उनलाई राष्ट्रिय सभामा पठाउने बाचा तोड्यो भने सन् २०१३ को दोस्रो संविधानसभा निर्वाचनमा पनि विष्णु पौडेलले नवलपरासी ३ को टिकट खोसेपछि उनी पुनः धोकामा परे । दोस्रो संविधानसभापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले चौधरी ग्रुप र उनलाई व्यक्तिगत रूपमा निसाना बनाएर जेल हाल्नेसम्मको धम्की दिएका थिए ।
यी षड्यन्त्रहरूबाट आजित भएर राजनीति छाड्ने निर्णय गरे । तर, नियम बदल्न दर्शक बनेर पुग्दैन, मैदानमै उत्रिनुपर्छ भन्ने सोचेर अन्ततः सन् २०१७ मा शेरबहादुर देउवाको निमन्त्रणा स्वीकार गर्दै उनी नेपाली कांग्रेसमा प्रवेश गरे । समानुपातिक सांसद र नेपाल उद्योग परिसंघमार्फत समृद्धिको यात्रा अधुरो देखेपछि उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा वडा तहदेखि नै चुनाव लडेर केन्द्रीय सदस्य बने ।
सन् २०२२ को आमनिर्वाचनमा नवलपरासी पश्चिम १ बाट प्रत्यक्ष चुनाव लड्दाको भोगाइ झनै रोमाञ्चक छ । पार्टीभित्रैबाट ‘टुरिस्ट नेता’ को ट्याग, स्थानीय नेताहरूको असहयोग र ४० डिग्रीको गर्मीमा श्रीमती लीलाले चिसो मिनरल वाटर र भव्य खानपिनको व्यवस्थापन गर्दै गरेको चुनावी प्रचारका रोचक प्रसंगहरू पुस्तकमा छन् । सात हजार एक सय ७८ मतान्तरले विजयी भएपछि उनले आफ्नो क्षेत्रका लागि १५ वटा गौरवका आयोजना, नारायणी नदी नियन्त्रण र केरा तथा उखु किसानका समस्या समाधानमा खेलेको भूमिकालाई विस्तारमा प्रस्तुत गरेका छन् ।
जेन–जी आन्दोलनको सूक्ष्म विश्लेषण
यस पुस्तकको सबैभन्दा महत्वपूर्ण भाग यसको लेखकीय टिप्पणी हो । २३ र २४ भदौ ०८२ को जेन–जी विद्रोहका कारण चौधरीले प्रकाशकलाई आग्रह गरेर स्टप प्रेस गराई यो अध्याय थपेका हुन् । यस अध्यायमा उनले आलो घाउ कोट्याउने प्रयास गरेका छन् । जेन–जी विद्रोहमा उनको सानेपास्थित सिजी मुख्यालय, नवलपरासीको घर र उद्योगहरू जलाइए । नेताहरूले सत्ताको खेल मात्र खेलेको, १० मिलियन युवालाई विदेश धकेलेको, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको र राज्यले चलाएको गोलीबाट १९ जना नागरिकको ज्यान गएको घटनालाई उनले जनआक्रोशको विस्फोटको मुख्य कारण ठानेका छन् ।
सञ्चार मन्त्रालयको नयाँ निर्देशिकाअनुसार दर्ता नभएको प्राविधिक बहानामा फेसबुक, युट्युब, एक्स, सिग्नलसहित २६ सामाजिक सञ्जालमाथि लगाइएको एकाएक प्रतिबन्ध, ललितपुरको सडकमा मन्त्रीको गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएर छाडिदिँदा देखिएको असंवेदनशीलता र १९ जना जनआन्दोलनकारीको ज्यान जाने गरी भएको बल प्रयोगले उब्जाएको त्यो अभूतपूर्व आक्रोश वास्तवमा दशकौँदेखि गुम्सिएको युवा असन्तोषको विस्फोट थियो । वैदेशिक रोजगारीमा एक करोडभन्दा बढी नेपाली रहेको, कुल अर्थतन्त्रमा रेमिट्यान्सको ३३.१ प्रतिशत हिस्सा रहेको र उच्च बेरोजगारी दरबिच आफ्ना परिवारसँग जोडिने माध्यम खोसिनु नै त्यो विद्रोहको मुख्य झिल्का बनेको यथार्थलाई चौधरीले सूक्ष्म रूपमा केलाएका छन् ।
विश्वव्यापी महŒवाकांक्षा
लेखन शैलीका हिसाबले पुस्तक सरल र कथात्मक छ । व्यंग्य र ठट्टाको मिश्रणले गर्दा व्यावसायिक र राजनीतिक विषय पढ्दा पनि पट्यार लाग्दैन । सहलेखक नमिता कालाको सम्पादन र सहलेखनले गर्दा घटनाक्रमहरू एक–आपसमा राम्ररी गाँसिएका छन् । यद्यपि, लेखक स्वयं एक चर्चित राजनीतिज्ञ र कर्पोरेट हस्ती भएकाले कतिपय विवादित निर्णय वा नीतिगत आलोचनाका विषयमा उनी अलि रक्षात्मक देखिएका छन् । नेपालका साना तथा मझौला व्यवसायीले भोग्ने दैनिक प्रशासनिक झन्झटभन्दा बढी उनको विश्वव्यापी महत्वाकांक्षालाई केन्द्रमा राखिएकाले कतिपय प्रसंग सामान्य पाठकका लागि अलि दूरगामी लाग्न सक्छन् ।
देश खरानी र अन्योलको स्थितिबाट गुज्रिरहेको वेला पनि ‘हामी फेरि उठ्नेछौँ, किनकि म र यो देशको सपना अझै मरेको छैन’ भन्ने उनको आशावादी सोचले पाठकको मनमा ऊर्जा भर्छ । उद्यमशीलतामा रुचि राख्नेहरूका लागि यो पुस्तक मार्गदर्शन हो भने नेपालको अर्थराजनीतिक अवस्था बुझ्न चाहने सर्वसाधारणका लागि आँखा खोलिदिने कृति हो ।