महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइने बताएकी छिन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले महिलाले सार्वजनिक यातायातमा भोग्ने यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमनसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन्।
उनले ‘ब्लु बस’ सेवाले लैंगिक असमानतालाई बढावा नदिने स्पष्ट पार्दै विशेष जोखिममा रहेका समूहलाई आवश्यक संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु नै वास्तविक समानताको महत्त्वपूर्ण आधार भएको बताइन्। समानताको अर्थ सबै नागरिकलाई सधैँ एउटै व्यवहार गर्नु मात्र नभई आवश्यकताअनुसार विशेष व्यवस्था गर्नु पनि रहेको उनको भनाइ थियो।
मन्त्री बादीका अनुसार ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु होइन, उनीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो। यो सेवा नियमित सार्वजनिक यातायातको विकल्प वा प्रतिस्थापन नभई महिलाका लागि थप सुरक्षित विकल्पका रूपमा सञ्चालन गरिएको उनले स्पष्ट पारिन्।
उनले तत्कालीन सुरक्षा उपायसँगै सबै नागरिकका लागि सुरक्षित, सम्मानजनक र समावेशी सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन सुधारलाई पनि सरकारले समानान्तर रूपमा अघि बढाउने जानकारी दिइन्।
सार्वजनिक यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवालासँग समन्वय गरेर आवश्यक कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।