भाँसी–रौटेला पर्यटनमार्ग विस्तारका लागि प्रारम्भिक रेखांकन

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको भाँसीदेखि रौटेला जोड्ने पर्यटनमार्ग विस्तारका लागि प्रारम्भिक रेखांकन गरिएको छ। बेदकोट नगरपालिका– ८ नम्बर वडा कार्यालयले भाँसीदेखि रौटेला जोड्ने पर्यटन मार्ग विस्तारका लागि प्रारम्भिक रेखांकन गरेको हो।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत भाँसीदेखि उत्तर चुरेफेदीस्थित रौटेला धार्मिक क्षेत्र जोड्ने सडक विस्तारका लागि वडा कार्यालयले केही दिनदेखि सर्वदलीय तथा सरोकारवाला पक्षको सहभागितामा सडकको प्रारम्भिक सीमांकन गरेको थियो।

बेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले वडाको गौरवको योजना कार्यान्वयनका लागि सडक क्षेत्रको प्रारम्भिक सीमांकन गरिएको बताए।

उनका अनुसार बेदकोट नगरपालिकाले नगर गुरुयोजनाअन्तर्गत १० मिटर चौडा सडक विस्तार गर्ने लक्ष्य अघि सारेको छ। सोही मापदण्ड पूरा गर्न वडा कार्यालयले पनि सडकको सीमांकन गरेको हो।

‘पहिलो चरणमा सडक सीमांकनको काम सम्पन्न भएको छ। सडक क्षेत्रभित्र पर्ने स्थानीय नागरिकका संरचना तथा खेतीबारीबारे हामीले हेड टु टेलसम्म यकिन गरिसकेका छौँ,’ उनले भने, ‘सडक क्षेत्रभित्र पर्ने सबै संरचना हटाउन वडा कार्यालयबाट सातदिने सूचना जारी गर्छौँ। उक्त अवधिमा सम्बन्धित व्यक्तिले आफैँ सडकको जमिन खाली गर्नुपर्नेछ, अन्यथा कानुनी प्रक्रियाअनुसार खाली गराइनेछ।’

झन्डै सात किलोमिटर लम्बाइ रहेको उक्त सडकले उत्तरतर्फ रौटेला धार्मिक क्षेत्र र दक्षिणतर्फ जिल्ला सदरमुकाम महेन्द्रनगरलाई जोड्ने भएकाले दैनिक आवतजावतसँगै धार्मिक, सामाजिक, सांस्कृतिक तथा व्यावसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने वडाध्यक्ष जोशीको भनाइ छ।

बुधबार वडामा बसेको सर्वदलीय तथा सरोकारवाला पक्षको बैठकले पनि प्रारम्भिक सीमांकनअनुसार सडक क्षेत्र खाली गरी सडक स्तरोन्नतिका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

वडाध्यक्ष जोशीले केही दिनमै सडक क्षेत्र खाली गरी स्तरोन्नतिका लागि नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक बजेटको माग गरिने बताए। उनले सडक स्तरोन्नतिका लागि दलगत स्वार्थभन्दा माथि उठेर भावी पुस्ताको भविष्यलाई ध्यानमा राखी सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

उनले सडक स्तरोन्नति भएसँगै वडा मात्र नभई आमयात्रुलाई समेत सहज आवतजावत र थप सुविधा पुग्ने विश्वास व्यक्त गरे।

सुझावित समाचार