लालसागरमा भारतीय जहाजमाथि आक्रमण

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

यमनको पश्चिमी तटमा मंगलबार भारतको झन्डा लगाइएको कार्गो जहाजमा मिसाइल आक्रमण भयो । आक्रमणमा परेको जहाज पछि डुबेको थियो । जहाज डुब्नुअघि नै त्यसमा १४ जना चालक दलको उद्धार गरिएको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जनाएको छ । यमनी सेनाले उद्धार गरेकामध्ये १३ जना भारतीय नाबिक र एकजना यमनी रहेको र उनीहरूलाई लगत्तै चिकित्सा सहायता दिइएको जनाइएको छ ।

‘एमएसभी फैज नुर ओलिया’ नामको जहाजमा हुथी नियन्त्रित बन्दरगाह सहर होदेइदाहबाट लगभग १३ समुद्री माइल दक्षिणमा आक्रमण भएको थियो । यमनी राष्ट्रिय प्रतिरोध बलले आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै तटरक्षक र नौसेना एकाइले नाबिकको उद्धार गर्न संयुक्त अभियान सञ्चालन गरेको जनाएको छ ।

भारत सरकारद्वारा आक्रमणको निन्दा 
भारतद्वारा जारी एक विज्ञप्तिमा यमनी जलक्षेत्र नजिकै जहाजमा ‘विनाकारण’ गरिएको आक्रमणको कडा निन्दा गरिएको छ । केन्द्रीय बन्दरगाह, ढुवानी र जलमार्गमन्त्री सर्वानन्द सोनोवाले भारतीय जहाजलाई मिसाइल हानिएको बताएका छन् । र, आक्रमणले जहाज पल्टिएका कारण डुबेको पनि उल्लेख गरिएको छ । 

मन्त्री सोनोवाले आफूले समुद्री प्रशासनका महानिर्देशकलाई प्रभावित क्षेत्रमा भारतीय नाबिकको सुरक्षा सुनिश्चित गर्न र उद्धार गरिएका चालक दललाई आवश्यक सहयोग प्रदान गर्न अन्य एजेन्सीसँगको समन्वयमा तत्काल कदम चाल्न निर्देशन दिएको बताए ।

भारतीय जहाज आक्रमण भएको क्षेत्रमा गत महिनादेखि इरान–समर्थित हुथीहरूले साउदी अरबका जहाजविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेको थियो । योसँगै यमननजिक अमेरिका–इजरायली युद्धको नयाँ मोर्चा खोलिएको छ ।

See More On

सुझावित समाचार