विश्वप्रतिष्ठित टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले सेन्टरपिस कार्यक्रमअन्तर्गत छनोट भएका चलचित्रहरूको सूची सार्वजनिक गरेको छ। मंगलबार महोत्सवमा ५० देशका बहुप्रतीक्षित विश्व प्रिमियर, विश्वप्रसिद्ध निर्देशकहरूको नयाँ चलचित्र तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्रहरूको सूची सार्वजनिक गरेको हो।
यसअन्तर्गत नेपालबाट अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) छनोट भएको छ। यसअघि यो चलचित्रले कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत प्रतिष्ठित जुरी पुरस्कार जित्दै इतिहास रचेको थियो। ‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिचर चलचित्र पनि हो।
कान्स, टोरन्टोजस्ता प्रतिष्ठित महोत्सवमा नेपाली चलचित्रको उपस्थिति केवल सम्मानको विषय मात्र नभई दीर्घकालीन रूपमा नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारसँग जोडेर हेरिएको छ।
चलचित्रका निर्माता अनुप पौडेल ‘एलिफेन्ट्स इन द फग’ टोरन्टोमा छनोट हुनु नेपाली सिनेमाका लागि अर्काे ऐतिहासिक उपलब्धि भएको बताउँछन्। उनका अनुसार कान्सपछि विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक मानिने टोरन्टोमा पुग्नुले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय विश्वसनीयता र मूल्यलाई थप उचाइमा पुर्याएको छ।उनले टोरन्टो महोत्सवलाई चलचित्रको अन्तर्राष्ट्रिय वितरण विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि व्याख्या गरे।
‘टोरन्टो अन्तर्राष्ट्रिय वितरक खोज्ने र अमेरिकी बजारसँग छलफल अघि बढाउने महत्त्वपूर्ण अवसर बनेको छ। टोरन्टोमा विश्वका बलियो फिल्म मार्केट जोडिएको छ। यहाँ छनोट भएका धेरै चलचित्रले अन्तर्राष्ट्रिय वितरणको राम्रो अवसर पाउँछन्,’ उनी भन्छन्, ‘यसले व्यावसायिक वितरणमा मात्रै होइन, भविष्यमा एकेडेमी अवार्ड (अस्कर)सम्मको यात्रालाई पनि थप बलियो आधार दिन सक्छ। नेपालबाट अस्करका लागि छनोट हुने सम्भावनालाई यसले एक तह माथि उठाएको छ।’
उनले नियमित रूपमा नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव र बजारमा पुगिरहे विश्व दर्शकमाझ नेपाली सिनेमाप्रतिको विश्वास र चासो बढ्दै जाने विश्वास व्यक्त गरे। ‘नियमित रूपमा नेपाली चलचित्र फेस्टिभलहरूमा पुगिरहे त्यहाँका दर्शकमाझ नेपाली सिनेमाप्रतिको विश्वास र चासो बिस्तारै बढ्दै जान्छ। हरेक वर्ष वा केही वर्षको अन्तरालमा नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुगिरहेका छन्। जसले गर्दा विश्व सिनेमाले नेपाली सिनेमालाई गम्भीर रूपमा हेर्न थालेको छ,’ उनले भने।
निर्माताका रूपमा यो यात्राले आफूलाई नयाँ ऊर्जा र आत्मविश्वास दिएको पनि पौडेलले सुनाए। चलचित्र निर्माणका क्रममा भोगेका कठिनाइ अहिलेका उपलब्धिले बिर्साइदिएको उनको अनुभव छ। ‘यो चलचित्र मेरो लागि एउटा ‘केस स्टडी’जस्तै बनेको छ। निर्माणदेखि अन्तर्राष्ट्रिय यात्रासम्मका अनुभवले धेरै कुरा सिकाएको छ। अब ती अनुभव नयाँ फिल्मकर्मीहरूसँग बाँड्न सक्ने अवस्थामा पुगेको महसुस गरेको छु,’ उनले भने।
‘एलिफेन्ट्स इन द फग’ भदौ १९ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ । अन्तर्राष्ट्रिय रूपमा प्राप्त सम्मानले नेपाली दर्शकमाझ पनि चलचित्रप्रति थप अपनत्व र गौरवको भावना पैदा गर्ने उनको विश्वास छ । ‘यो एउटा चलचित्र मात्र होइन, नेपाली कथा र नेपाली माटोको प्रतिनिधित्व गर्ने सिर्जना हो । विश्वका प्रतिष्ठित मञ्च हुँदै आफ्नै दर्शकमाझ आउँदा सबैले एकपटक हेरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने।
चलचित्र नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संघर्षको कथामा आधारित छ । चलचित्रमा अल्पसंख्यक समुदायका कलाकारहरू नै मुख्य भूमिकामा रहेको छ । चलचित्रमा दीपिका यादव, पुष्पा थिङ, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्की, सञ्जय गुप्ता दुरा, महिमा नवबागलगायत कलाकारहरुको अभिनय रहेको छ ।
क्यानडाको टोरन्टो सहरमा सेप्टेम्बर १० देखि २० सम्म सञ्चालन हुने सेन्टरपिस महोत्सवको प्रमुख प्रतिस्पर्धात्मक खण्डमध्ये एक हो । यस वर्ष यस खण्डमा ५० देशका चलचित्रर्मीहरूले निर्माण गरेको ५४ चलचित्र समावेश गरिएका छन् ।