लुम्बिनीमा विश्वासको मतपछि मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी

साउन महिना भित्रै विश्वासको मत लिने र मन्त्रीमण्डल पुर्नगठन हुन्छः मुख्यमन्त्री आचार्य

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा विश्वासको मत लिएपछि मन्त्रिमण्डल पुर्नगठन गर्ने गरी तयारी थालिएको छ। नयाँ सत्तासमीकरणसँगै मन्त्रालय बाँडफाँडका लागि नयाँ समीकरणमा आवद्ध दलहरूबिच छलफल तीव्र पारिए पनि अझै निष्कर्षमा पुग्न नसकेको अवस्थामा अब मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी थालिएको हो ।

एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबिच नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । एमाले अध्यक्ष केपी ओलीले तत्कालका लागि मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता दिने  निर्देशनपछि आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल जारी राखेका  छन् ।

छलफलका क्रममा पहिला मुख्यमन्त्रीले विश्वासको मत लिने त्यस पछि मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय अगाडि सारिएपछि दलहरू सोहीअनुसार अगाडि बढ्न सहमत भएको मुख्यमन्त्री आचार्यले बताए । विश्वासको मत लिएपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी अगाडि बढेको छ, मुख्यमन्त्री आचार्यले भने, यही महिनाभित्रै विश्वासको मत लिने र मन्त्रिमण्डल पुनर्गठन गर्ने काम हुन्छ।

मुख्यमन्त्री आचार्यका अनुसार हाल केही प्रदेश सभा सदस्यहरू विदेशमा रहेकाले उनीहरू फर्केपछि विश्वासको मत लिने गरी तयारी भइरहेको छ।

लुम्बिनीमा मन्त्रालयको संख्या १२ बाट घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ९ मन्त्रालय कायम गरिएको छ । अब मन्त्रालयको नयाँ संरचनाअनुसार सरकारमा सहभागी दलहरूलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारमा हाल नेकपा (एमाले) का तर्फबाट मुख्यमन्त्रीसहित पाँचजना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईजना मन्त्री छन् ।

नया सत्तासमीकरणमा एमाले, नेकपा, जसपा नेपालसहित समेट्ने गरी यहाँ तयारी भएको छ । नेकपालाई अर्थसहितका मन्त्रालय दिने गरी छलफल अगाडि बढेको छ ।

लुम्बिनी प्रदेश सभा हाल ८३ सदस्यीय छ । प्रतिनिधिसभामा निर्वाचित भएपछि चार प्रदेश सभा सदस्यले राजीनामा दिएका कारण सदस्य संख्या ८७ बाट घटेर ८३ पुगेको हो । सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।

हाल यहाँ एमालेका २९, कांग्रेसका २७, नेकपाका १३, राप्रपाका ४, जसपा नेपाल ३, जनमत पार्टी ३, जसपा २, राजमो १ र एकजना स्वतन्त्र सदस्य रहेका छन् ।  

सुझावित समाचार