श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि प्रकारको सेना स्वीकार्य नहुने बताएका छन्। उनले विभिन्न नाममा समूह गठन गरी आफूलाई सेना घोषणा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै त्यस्ता समूहसँग सरकारले वार्ता गर्नुको सट्टा कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका छन्।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद राईले सुनसरी र मधेशका घटनाका क्रममा चर्चामा आएको ‘हिन्दु सम्राट् सेना’प्रति संकेत गर्दै नेपालमा एउटै मात्र सेना नेपाली सेना रहेको उल्लेख गरे। ‘ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ? यस्ता समूहसँग सरकारले वार्ता गर्नुहुँदैन, बरु उनीहरूलाई निषेध गरी कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।
राईले ०८३ साउन ५ गते जनकपुर जाँदा आफूलाई एक समूहले अवरोध गर्न खोजेको र आफ्ना सहयोगीमाथि कुटपिट भएको घटनासमेत संसदमा उठाए। उनले निर्वाचित सांसदले आफ्नै देशमा निर्वाध रूपमा हिँडडुल गर्न नपाउनु कानुनी शासनमाथिको प्रश्न भएको बताए।
‘एउटा सांसदलाई आफ्नै देशमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार छैन ? यो कस्तो कानुनी राज्य हो ? मैले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा फोन गरेर कारबाहीको माग गरेको छु, तर त्यसबारे के प्रगति भयो ?’ उनले प्रश्न गरे।
यसैबिच, सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए। उक्त अभिव्यक्ति अहिलेसम्म संसद्को रेकर्डबाट नहटाइएको भन्दै उनले त्यसलाई तत्काल सच्याउन माग गरे।
‘के प्रधानमन्त्रीलाई अझै पनि नेपालले भारतको भूमि मिचेको छ भन्ने लाग्छ ? यस्तो अभिव्यक्ति तुरुन्तै सच्याइनुपर्छ,’ उनले भने।