करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या करिब ११ लाखनजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६ सय २२ पुगेको हो । यसमा क्युआरबाट गरिएको र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश गरिएका छन् ।
विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार १ साउनेदेखि १५ साउनसम्म क्युआरबाट कारोबार गरेका १० लाख ७४ हजार सात सय ९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन् । यस्तै, शनिबारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामार्फत सोमबार मध्याह्नम्म १० लाख ८२ हजार ६ सय २२ वटा कारोबार र बिल योग्य देखिएका छन् ।
विभागले पहिलो १५ दिन (साउन १ देखि १५ गतेसम्म)मा १५ जनालाई दैनिक एक–एक लाख र एकजनालाई बम्परमा १० लाख पुरस्कार दिने उपहार घोषणा गर्दै छ । विभागले पहिलो प्रोत्साहन उपहार घोषणा गर्ने अघिल्लो दिनसम्म नगद कारोबार गरेर बिल लिएका उपभोक्तालाई आफ्नो बिल प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरेको छ । विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ ।
चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन् ।