पुतलीसडकमा खुल्यो नबिल बैंकको एजुकेसन हब

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

नबिल बैंकले पुतलीसडकमा ‘नबिल बैंक एजुकेसन हब’ सञ्चालनमा ल्याएको छ । हबको उद्घाटन नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरे । 

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदातालगायतलाई लक्षित गरी एजुकेसन हब सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । उक्त हबबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध हुने जनाइएको छ । 

बैंकका अध्यक्ष चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन तथा बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए । ‘शिक्षामा गरिने लगानी एक व्यक्तिमा मात्रै नभई समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणका लागि हो,’ उनले भने, ‘मुलुकको शिक्षालाई थप सुदृढ बनाउनुका साथै भावी पुस्तालाई सशक्त बनाउने उद्देश्यले हबको स्थापना गरिएको हो ।’ देशैभरका शाखामा कम्तीमा एजुकेसन हबको एउटा काउन्टरको व्यवस्था गरेर यस पहललाई विस्तार गरिने पनि अध्यक्ष चौधरीले प्रस्ट्याए । 

राजदूत अर्न्स्टले, एजुकेसन हबको सुरुवातले अस्ट्रेलिया–नेपालबिचको सम्बन्धको मूल मर्मभित्र रहेको शिक्षाको माध्यमबाट जनशक्तिमा लगानी गर्ने कार्यलाई प्रतिबिम्बित गरेको बताए ।  

सिइओ ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलोपटक उपलब्ध हुन लागेको बताए । ‘यस हबले शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना तथा आवश्यक बैंकिङ मार्गदर्शनलाई एकीकृत रूपमा उपलब्ध गराउनेछ,’ उनले भने ।

सुझावित समाचार