फेरि ग्यास आपूर्ति असहज, लाइनमा उपभोक्ता

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण
  • ३१ असारबाट १४.२ किलो पूरा तौल भएको ग्यास सिलिन्डरको आपूर्ति सुरु हुनासाथ घर–घरमा रित्तिएर बसेका सिलिन्डर ‘रिफिलिङ’ गर्ने प्रवृत्ति बढेकाले एकाएक माग बढेको आयल निगमको दाबी, देशभरका ग्यास डिलरअगाडि रित्ता सिलिन्डर लिएर उपभोक्ता लाइनमा

१४.२ किलोग्राम ग्याससहितको पूरा तौलको सिलिन्डर बजारमा आउन थालेपछि आपूर्ति असहज बनेको छ । आयल निगमले मागभन्दा बढी परिमाणमा आयात भइरहेको बताए पनि ग्यास डिलरकहाँ उपभोक्ताको लाइन बाक्लिन थालेको छ ।

निगमले ३१ असारबाट पूरा तौलको सिलिन्डर बिक्री गर्न उद्योगीलाई निर्देशन दिएको थियो । त्यसयता, बजारमा पूरा तौल भएका ग्यास सिलिन्डर प्रयोगमा आइसकेका छन् । पूरा तौलको सिलिन्डर भर्न पुग्ने परिमाणमा भारतबाट ग्याससमेत आयात भइरहेको निगमले जनाएको छ । तर, उपभोक्ताहरू भने रित्तो सिलिन्डर लिएर डिलरअगाडि लाइन लागिरहेका छन् ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार दैनिक माग धान्न ९३ देखि ९५ बुलेट ग्यास आयात गर्दा हुन्छ । तर, केही दिनयता दैनिक एक सय ४३ बुलेटसम्म ग्यास आयात भइरहेको उनले बताए । ‘सामान्य अवस्थासँग तुलना गर्ने हो भने अहिले आयात भइरहेको परिमाण धेरै हो,’ उनले भने, ‘तैपनि, बजारमा आपूर्ति सहज गर्न मुस्किल भइरहेको छ । उपभोक्ताहरूले आवश्यकताभन्दा पनि सञ्चय गर्ने उद्देश्यले माग बढाएको हाम्रो बुझाइ छ ।’

उनका अनुसार साताअघि शनिबार ७८ बुलेट, आइतबार ७६ बुलेट, सोमबार १०६ बुलेट, मंगलबार १३४ बुलेट, बुधबार १४३ बुलेट, बिहीबार ११६ बुलेट र शुक्रबार १३२ बुलेट ग्यास आयात भएको छ । ‘यो परिमाण तुलनात्मक रूपमा धेरै राम्रो हो । आउँदा दिनमा यही दरले ग्यास आयात गर्ने गरी इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग समझदारी भइसकेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसैले, सञ्चय गर्ने उद्देश्यले भण्डारण नगर्ने हो भने सहजै आपूर्ति गर्न सकिन्छ ।’

टेकुस्थित पुरानो कार्यालयबाट पुनः बिक्री सुरु
डिलरकहाँ लाइन लाग्दासमेत ग्यास नपाएको उपभोक्ताको गुनासोपछि आयल निगमले उपत्यकामा आपूर्ति सहजताका लागि शनिबारबाट टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डको ग्यास बिक्री थालेको छ । तर, टेकुमा शनिबार पहिलो दिन नेपाल, सुगम र एभरेस्टले थोरै ग्यास बिक्रीका लागि राखेको हुँदा धेरै उपभोक्ता रित्तो सिलिन्डर लिएर फर्कन बाध्य भएका थिए ।

शनिबार टेकुबाट नेपाल ग्यासले ९० र सुगम–एभरेस्टले ४५ सिलिन्डर बेचेपछि थप ग्यास नल्याएको निगमका एक अधिकारीले बताए । ‘टेकुमा ग्यास पाउने खबर फैलिएपछि नजिक रहेका उपभोक्ता पुगेका थिए । तर, नेपाल, सुगम र एभरेस्टले थोरै ग्यास मात्रै बेचेर थप ल्याएनन्, जसकारण केही उपभोक्ता रित्तै फर्कनुपर्‍यो,’ ती अधिकारीले भने ।

शनिबार दिउँसो तीन बजे नयाँ पत्रिकाकर्मी टेकुस्थित बिक्री स्थलमा पुग्दा श्रीराम ग्यास मात्रै राखिएको थियो । श्रीराम ग्यासका एक प्रतिनिधिले पनि अन्य ब्रान्डका ग्यास सकिएकाले थप नल्याएको जानकारी उपभोक्तालाई दिइरहेका थिए । तीन बजेतिर टेकु पुगेका बल्खुका रमेश कार्कीले एभरेस्ट ब्रान्डको खाली सिलिन्डर लिएर गए पनि रित्तो फर्कनुपरेको बताए । ‘टेकुमा पनि ग्यास सकिएको भनेपछि रित्तो फर्कन लागेको छु,’ डिपो परिसरभित्र भेटिएका उनले भने, ‘भोलि (आइतबार) दिने कुरा छ, अब फेरि भोलि आउनुपर्ला ।’

आइतबार भने उपभोक्ताको बाक्लो लाइन हुने निगमको अपेक्षा छ । त्यसैले, बिहानबाटै सबै ब्रान्डका ग्यास सिलिन्डर टेकुमा बिक्रीका लागि ढुवानी हुने भएको छ । निगमले यसअघि २८ माघबाट पनि सोही ठाउँबाट केही समयका लागि ग्यास बिक्री गरेको थियो ।

दुई महिना खपत घट्दा अहिले चाप
मुलुकभर औसत ४५ हजार टन ग्यास खपत हुने गरेको छ । तर, वैशाख र जेठमा ग्यासको खपत घटेर मासिक ३२ हजार टन मात्रै आयात भएको निगमले जनाएको छ । किनभने, त्यसअघि फागुन र चैतमा नै उपभोक्ताले घरमा भएका सबै ग्यास सिलिन्डर भरेर राखेका थिए । त्यसैले वैशाख र जेठमा सिलिन्डर नै रित्तिन नपाएकाले बजार आएनन् ।

दुई महिना लगातार माग घटेको र उपभोक्तको सिलिन्डर पनि भरिएकै अवस्थामा रहेको अनुमान गर्दै आयल निगमले असार अन्तिमबाट पूरा तौलको सिलिन्डर प्रचलनमा ल्याउने निर्णय लागू गर्‍यो । उक्त निर्णयलगत्तै उपभोक्ताहरूले घरमा रित्तिएर बसेका सिलिन्डर साट्न डिलरकहाँ आउनेक्रम बढेको निगमको बुझाइ छ । ‘दुई महिनासम्म ग्यास खपत भएर सिलिन्डर रित्तिएका थिए । ती रित्ता सिलिन्डरहरू आधा ग्यास भरिएको सिलिन्डरसँग नसाटेर धेरै उपभोक्ता पर्खेर बसेको हाम्रो बुझाइ छ,’ निगमको ग्यास विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्याय भन्छन्, ‘अहिले बजारमा पूरा तौल भएको सिलिन्डर आउन थालेपछि अधिकांश उपभोक्ता रित्ता सिलिन्डर भर्न डिलरकहाँ आइपुगेका छन् ।’

सुझावित समाचार