प्रेरक प्रसंग : भिक्षु बोधि र चिनियाँ सम्राट्

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

एकपटक बौद्ध भिक्षु बोधि चीन भ्रमणमा गए । चीनका सम्राट् पनि बौद्ध धर्मावलम्बी थिए । उनी बोधिका उपदेशबाट निकै प्रभावित भए । एकदिन उनले बोधिलाई दरबारमा आमन्त्रण गरे । वार्तालापको क्रममा सम्राट्ले सोधे– म हरेक दिन भगवान् बुद्धले बताएको मार्गमा अघि बढ्ने प्रयास गर्छु । तैपनि, वेलावेलामा मलाई यति धेरै रिस उठ्छ कि म आफैँमाथि नियन्त्रण राख्न सक्दिनँ । यो क्रोधमाथि नियन्त्रण कसरी गर्न सकिएला ? हजुरले मेरो मार्गदर्शन गर्नुपर्यो ।

बोधिले सम्राट्लाई सम्झाउँदै भने– जब तिमीलाई रिस उठ्छ तब आफ्नो आँखा बन्द गर र लामो लामो सास लिने र छाड्ने गर । रिस एकैछिनमा शान्त हुन्छ । केही क्षण रोकिएर भिक्षुले भने– जुनजुन दुर्गुण मानिसमाथि जहिल्यै हाबी भइरहँदैनन्, तिनलाई ज्ञानको अभ्यासबाट हटाउन सकिन्छ । तर, जो व्यक्ति लोभ, लालच र मोहको बन्धनमा जकडिएर हरेक समय भोगविलास र धन, सम्पत्ति संग्रहको चिन्तनमा लागिरहन्छ, उसमा सुधारको सम्भावना रहँदैन । त्यसैले, आफ्नो व्यक्तिगत जीवन अधिक सरल र सात्विक बनाऊ । सुख पाउँदा पनि ज्यादै खुसी नहुने र दुःख पाउँदा पनि बढी नै दुःखी नहुने अभ्यास गर्दागर्दै तिमी क्रोध, लोभजस्ता दुर्गुणबाट मुक्त हुनेछौ ।

शरीरको साटो आत्मालाई बढी महत्व दिने मान्छे कहिल्यै दुःखी र अशान्त हुँदैन । यदि सांसारिक सुख तिम्रा लागि हुन्थ्यो भने त्यो जहिल्यै तिम्रो साथमा रहन्थ्यो । कहिल्यै त्यसले छाड्ने नै थिएन । यो संसार नाशवान् छ भन्ने ज्ञान हरेक मनुष्यलाई हुनु जरुरी छ । फेरि हामी त्यस्तो इच्छा किन मनमा पालिराखौँ, जुन कहिल्यै पूरा हुँदैन । भइहाल्यो भने पनि टिक्दैन । भिक्षु बोधिको भनाइबाट सम्राट्को मनको चिन्ता दूर भयो । त्यस दिनदेखि उनले आफ्नो जीवन सरल, सात्विक र पवित्र बनाउने अभ्यास सुरु गरे । 

सुझावित समाचार