मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ की विजेता दीपमाला ढकाल मिस नेपालमा प्रतिस्पर्धा गर्न अमेरिकाबाट नेपाल आएकी छिन्। उनी प्रतिस्पर्धामा अन्तिम २४ भित्र परेकी छिन्।
हङकङमा जन्मिएर, हुर्किएकी ढकालले विश्वकै प्रतिष्ठित कम्पनी ब्ल्याक रकमा ‘इनभेस्टमेन्ट स्ट्राटेजिस्ट’का रूपमा काम गरिसकेकी छिन्। सन् २०२४ मा युनिभर्सिटी अफ हङकङबाट इकोनोमिक्स एन्ड फाइनान्समा स्नातक गरेकी उनले त्यही वर्ष ब्ल्याक रकमा स्थायी करियर सुरु गरेकी थिइन्। सो जागिर छाडेर मिस नेपालमा प्रतिस्पर्धा गर्न उनी नेपाल आएकी हुन्।
ढकाल भन्छिन्, ‘ब्ल्याक रकमा फेरि पनि काम गर्न सकिन्छ। तर, मिस नेपाल भएर आफ्नो देशको प्रतिनिधित्व गर्ने अवसर यही उमेरमा मात्र आउँछ। यो समय गुमेपछि फेरि फर्केर आउँदैन, त्यसैले मैले अहिले देश रोजेकी हुँ।’
प्रतियोगिताका छानिएका शीर्ष २४ प्रतिस्पर्धीमध्ये उनले चयन गर्दा नम्बर १७ मा छिन्। संयोग कस्तो भने ३२ वर्षअघि उनकी आमा रोशनी खरेलले पनि १७ नम्बरमै मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन्। आमाको समेत अधुरो सपना लिएर उनी प्रतिस्पर्धामा उत्रिएकी छिन्।
नेपाली, अंग्रेजी, म्यान्डारिन र क्यान्टोनिज भाषामा समान रूपमा सहज बोल्न सक्ने उनीसँग हजारौँ दर्शकअगाडि कार्यक्रम सञ्चालन गर्ने अनुभव उनमा छ। उनी टेडएक्स स्पिकर पनि हुन्। तेक्वान्दो ब्ल्याक बेल्ट धारण गरेकी उनी म्याराथन रनर पनि हुन्। सामाजिक उत्तरदायित्वप्रति उनको संवेदनशीलता उल्लेखनीय छ। उनी नेपाल क्यान्सर अस्पतालको ब्रान्ड एम्बासडर हुन्। साथै, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य भएर सेकेन्ड जेनेरेसन कोअर्डिनेटरका रूपमा कार्यरत छिन्।
हिडन ट्रेजरले आयोजना गर्दै आएको प्रतिस्पर्धामा दीपमालासहित ईशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कासिस सुब्बा, मानस्वी शर्मा, सुषमा भण्डारी, प्रतिष्ठा आचार्य, आर्य निशान्त, आयुस्मा केसी खत्री, शितान्सु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, सज्जा श्रेष्ठ, विभुशा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयांसी श्रेष्ठ, अर्विशा थापा र रचना भट्टराई प्रतिस्पर्धामा छन्। यस वर्षको मिस नेपालको फाइनल शनिबार हुँदै छ।