सुनसरीको देवानगन्ज गाउँपालिकाले कप्तानगन्ज घटनाका मृतकलाई सहिद घोषणा गर्न सिफारिस गर्दै पीडित परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
साउन १० गते राति देवानगन्ज–३, कप्तानगन्ज नयाँहाट बजारमा दुई समूहबिच भएको झडपका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवा २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहतालाई सहिद घोषणा गर्न सिफारिस गर्दै गाउँपालिकाले पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार बिहीबार बसेको पालिकाको बैठकले मृतकका परिवारलाई प्रतिपरिवार १० दश लाख रुपैयाँ, गोली लागेर पूर्ण अशक्त तथा अति अशक्त अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र मध्यम तथा सामान्य अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको जानकारी दिए।
गाउँपालिकाको कार्यपालिका बैठकले घटनामा मृत्यु भएका दुवै युवाप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय जनगुनासोलाई सम्बोधन गर्ने उद्देश्यले वडा नम्बर ३ का ज्येष्ठ वडासदस्य रामबहादुर महतोलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। त्यसैगरी, घटनाका कारण सर्वसाधारणको निजी सम्पत्तिमा भएको क्षतिको यकिन गरी उचित क्षतिपूर्तिका लागि नेपाल सरकारसँग माग गर्ने, घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न पनि संघीय सरकारसँग गाउँपालिकाले माग गर्ने निर्णय गरेको छ।
शान्ति–सुरक्षा तथा असहज परिस्थितिलाई ध्यानमा राख्दै गाउँपालिकाले स्वास्थ्य सेवा र अत्यावश्यक सेवाबाहेक गाउँपालिकामातहतका अन्य सबै कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।