लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर दुई हजार ६८८.८८ विन्दु कायम भएको हो। यसअघि सोमबार र मंगलबार क्रमशः ३३ र ४ अंकभन्दा धेरैले घटेको थियो।
बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार चार अर्ब ४२ करोडभन्दा बढी मूल्यबराबरको सेयर खरिद–बिक्री भएकोमा आज चार अर्ब दुई करोड ९३ लाख ९० हजार रुपैयाँमा सीमित भएको हो। आज ३४३ कम्पनीका ९७ लाख ७७ हजार कित्ता सेयर किनबेच भए।
समूहगत सूचकतर्फ दुईवटामा वृद्धि हुँदा ११ समूहको सूचक घटेका छन्। म्युचल फन्ड र अन्य समूह क्रमशः ०.३१ र ०.४३ प्रतिशतले बढ्दा बाँकी सबै समूह एक प्रतिशतभन्दा कमले घटे।
घटेको बजारमा एभरेस्ट इनर्जीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, स्नो रिभर्स करिब पाँच तथा नबिल ब्यालेन्स्ड फन्ड ३, खानीखोला हाइड्रो र हिमालयन पावर तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।
गरिमा समृद्धि योजना र सिभिल बैंक डिबेन्चर सर्वाधिक गुमाउने धितोपत्रको शीर्ष स्थानमा छन्। यी धितोपत्रका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्।