प्रधानमन्त्री बालेनको अपिल– उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीमा सामाजिक सदभाव बिग्रँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बोलेका छन् । उनले सामाजिक सदभाव कायम गरी उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्न आह्वान गरेका छन्। 

सामाजिक सञ्जालमार्फत अपिल गर्दैले उनले गोली हान्नेमाथि छानबिन भइरहेको र कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले भनेका छन्, ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’ 

यस्तो छ उनको अपिल 
नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर, सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए । 
प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशकाे नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट आफन्त गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु । 
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ, तर ती पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु ।  सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको छ । तपाईंहरूले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमका बारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नुहुनेछ । 
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पूरा शक्ति लगाएर चाँडोभन्दा चाँडो परिणाम दिनेछ । त्यति वेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यही हो । 
मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।
फेरि पनि आग्रह गर्छु– मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनुहोला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एक–अर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ । 

सुझावित समाचार