- पहिलो चरणमा एम्बुलेन्स र आकस्मिक सेवाका गाडीलाई खुला, सर्वसाधारणका लागि साउन अन्तिम साताबाट खोलिने, सुरुङमार्गबाट काठमाडौं भित्रिँदा ३३ मिनेट र बाहिरिँदा २३ मिनेट समय बचत हुने
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’ सोमबारदेखि सञ्चालनमा आउने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानिज राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीलगायतको उपस्थितिमा सोमबार सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले सोमबार सुरुङमार्गको उद्घाटन हुने जानकारी दिए । तर, सो दिन एम्बुलेन्स, सुरक्षा निकायलगायत आकस्मिक सेवाका सवारीसाधनलाई मात्रै खुला हुनेछ । ‘त्यस्ता गाडीको आगमनका आधारमा सुरुङमार्गको प्राविधिक परीक्षण पनि हुनेछ,’ उनले भने, ‘त्यसपछि साउनको अन्तिम साता वा भदौ पहिलो सातादेखि अन्य नियमीत सवारीसाधनलाई पनि सुरुङमार्ग खुला हुनेछ ।’ एम्बुलेन्सजस्ता आकस्मिक सेवाका सवारीसाधनलाई शुल्क लाग्नेछैन । अन्य सवारीसाधनले भने तोकिएको शुल्क तिर्नुपर्छ ।
कुन गाडीलाई कति शुल्क ?
सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानहरूलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय रुपैयाँ र ठुला उपकरणलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ । सडकको बोर्डमा जम्मा हुने गरी सेवाप्रदायक कम्पनीले नै टोल ट्याक्स उठाउनुपर्नेछ । मोटरसाइकल, तीनपांग्रे सवारीसाधन, इन्धन बोक्ने ट्रकलाई भने सुरुङमार्गमा निषेध गरिएको छ ।
परियोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग छन् । पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको सुरुङमार्ग काठमाडौं–नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख ०८१ र २,५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । मुख्य टनेल नियमित यातायात प्रयोजन र रेस्क्यु टनेल उद्धारकार्यमा प्रयोग हुनेछ । पछि ट्राफिक बढेको अवस्थामा रेस्क्यु टनेल विस्तार गरेर नियमित रूपमा सञ्चालन गर्ने तयारी छ ।
यो सुरुङमार्गले सडकको २.८ किमि दूरी घटाउनेछ । सुरुङमार्गबाट काठमाडौं भित्रिँदा ३३ मिनेट र काठमाडौंबाट बाहिरिँदा २३ मिनेट समय बचत हुनेछ ।
चिनियाँ कम्पनीले गर्दै छ सञ्चालन
सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ संलग्न जोइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले ठेक्का पाएको छ । उक्त कम्पनीले परियोजनालाई पाँच वर्षसम्म सञ्चालन गर्ने गरी एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का पाएको छ । हाल उक्त कम्पनीले सुरुङमार्ग सञ्चालनको तयारीलाई अन्तिम चरणमा पुर्याएको हो ।
ठेक्का प्राप्त कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्बन्धी सम्पूर्ण काम गर्नुपर्नेछ । सुरुङ २४सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ, त्यो काम ठेकेदारले नै गर्नुपर्छ । सेवाप्रदायकले सिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्नुपर्ने हुन्छ । यसका लागि एक सय ५० जना कर्मचारी चाहिने देखिएको छ ।
सुरुङमार्ग निर्माण भने जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । सुरुङमार्ग निर्माणका लागि सडक विभाग र कम्पनीबिच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । त्यसको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने पहिलो सम्झौता थियो । त्यसमा पटक–पटक म्याद थप गरेर २५ अप्रिल (१२ वैशाख ०८३) सम्म पुर्याइएको थियो । त्यस अवधिमा काम सकेर कम्पनीले नेपाललाई हस्तान्तरण गरिसकेको छ ।
यद्यपि, पश्चिम खण्डमा पहिरो नियन्त्रणको काम बाँकी नै छ । ठेक्का सम्झौता गरेको सात वर्षमा परियोजना सञ्चालनमा आउन लागेको हो । जाइकाले २०१३ मा यसको अध्ययन अघि बढाएको थियो । त्यसको १३ वर्षपछि परियोजना सञ्चालनमा आउन थालेको हो । परियोजनाको लागत २८ अर्ब रुपैयाँ रहेको छ । त्यसमा साढे २२ अर्ब रुपैयाँ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ऋण दिइरहेको छ । बाँकी सरकारले लगानी गरेको छ ।