सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएको आफ्नो भिडियो भाइरल भएपछि सांसद बब्लु गुप्ताले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। उनले उक्त भिडियो पुराना सम्झनामा रमाउँदै मजाक–मजाकमा बनाइएको बताउँदै ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्।
सांसद गुप्ताले आफू बाल्यकालमा खेलेको स्थानमा पुगेपछि पुराना सम्झनाहरू ताजा भएको र त्यही खुसीको क्षणमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताएका छन्। त्यस क्रममा ट्राफिक नियम उल्लंघन भएको कुरा आफूले महसुस गरेको उनले उल्लेख गरेका छन्।
उनले अब आफ्नो जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै जानी वा नजानी आफूबाट कुनै गल्ती भएको भए क्षमा मागेका छन्। सांसद गुप्ताको मोटरसाइकलमा उभिएको भिडियो पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। त्यसपछि उक्त भिडियोको विषयलाई लिएर विभिन्न टिप्पणी र आलोचना हुँदै आएको छ।