दक्षिण एसियाली बजारलाई लक्षित गर्दै एआई (कृत्रिम बुद्धिमत्ता)द्वारा सञ्चालित क्रिएटर मार्केटिङ प्लाटफर्म ‘भिल’को सेवा सुरु भएको छ । यससँगै कम्पनीले नेपाल र भारतमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल माध्यममा जोड्ने नयाँ अध्यायको सुरुवात गरेको हो ।
परम्परागत रूपमा इमेल, म्यासेजिङ एप, स्प्रेडसिट वा छुट्टाछुट्टै भिडियो सम्पादन र भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने झन्झटिलो प्रक्रियालाई विस्थापित गर्दै भिलले सबै क्रिएटर अभियान व्यवस्थापन एउटै प्लाटफर्ममा सम्भव बनाएको बताइएको छ ।
यसमार्फत व्यवसायले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो सम्पादन तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन् ।
त्यस्तै, क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रत्यक्ष सहकार्यको अवसर पाउनेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले नेपाल र भारतमा भएको यो सुरुवात दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने दीर्घकालीन प्रतिबद्धता भएको बताए ।