ताप्लेजुङमा ८६ करोडभन्दा बढी बजेट फ्रिज, पुँजीगत खर्च कमजोर

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

ताप्लेजुङमा आर्थिक वर्ष ०८२/८३ का लागि विनियोजन गरिएको बजेटमध्ये ८६ करोड ५७ लाख ९५ हजार ३९६ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विकास निर्माणसँग सम्बन्धित पुँजीगत शीर्षकमा न्यून खर्च हुँदा ठुलो रकम फ्रिज भएको हो ।

कार्यालयका लेखापाल मनकुमार संग्रौलाका अनुसार फ्रिज भएको रकममध्ये संघीय सरकारतर्फ ५२ करोड ७९ लाख ७२ हजार ३९० रुपैयाँ र प्रदेश सरकारतर्फ ३३ करोड ७८ लाख २३ हजार ६ रुपैयाँ खर्च हुन नसकेको हो। तथ्यांकअनुसार जिल्लामा चालू बजेटको तुलनामा पुँजीगत बजेटको खर्च कमजोर देखिएको छ।

संघ र प्रदेश सरकारबाट चालूतर्फ विनियोजन गरिएको पाँच अर्ब २६ करोड ९ लाख १५ हजार ६२६ रुपैयाँमध्ये ३७ करोड ४ लाख ८४ हजार ९९० रुपैयाँ खर्च हुन सकेन।

संघीय सरकारतर्फ चालू शीर्षकमा विनियोजित चार अर्ब ७८ करोड ४ लाख ८० हजार ९०६ रुपैयाँमध्ये चार अर्ब ५१ करोड ९९ लाख ४५ हजार ६४६ रुपैयाँ खर्च भएको छ भने २६ करोड ५ लाख ३५ हजार २६० रुपियाँ फ्रिज भएको छ ।

प्रदेश सरकारतर्फ ६१ करोड २८ लाख १४ हजार रुपियाँ चालू बजेटमध्ये ५० करोड २८ लाख ६४ हजार २७० रुपैयाँ खर्च हुँदा १० करोड ९९ लाख ४९ हजार ७३० रुपियाँ खर्च हुन सकेन।

पुँजीगततर्फ भने संघ र प्रदेश दुवैतर्फ गरी ४० करोड ५३ लाख १० हजार ४०६ रुपैयाँ बजेट फ्रिज भएको छ । संघीय सरकारको ७६ करोड २१ लाख ८५ हजार रुपैयाँ पुँजीगत बजेटमध्ये ४० करोड ४७ लाख ४७ हजार ८७० रुपैयाँ खर्च भएको छ भने २६ करोड ७४ लाख ३७ हजार १३० रुपैयाँ बाँकी रहेको छ ।

प्रदेश सरकारतर्फ ५२ करोड ३८ लाख ३४ हजार रुपैयाँ पुँजीगत बजेटमध्ये २९ करोड ५९ लाख ६० हजार ७२४ रुपैयाँ मात्र खर्च भएको छ भने २२ करोड ७८ लाख ७३ हजार २७६ रुपैयाँ फ्रिज भएको कार्यालयले जनाएको छ ।

खर्च हुन नसकी फ्रिज भएको सम्पूर्ण रकम सम्बन्धित संघीय तथा प्रदेश सरकारको खातामा फिर्ता जाने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सुझावित समाचार