पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सटल बस सेवा विस्तार

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

सञ्चालनमा आएको ४० महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बसले आफ्नो सेवा क्षेत्र विस्तार गरेको छ। महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले १ वैशाखदेखि सुरु गरेको सेवाले साउनदेखि आफ्नो क्षेत्र विस्तार गरेको हो।

सुविधा सम्पन्न विद्युतीय दुई बसबाट सुरु भएको सेवा असार मसान्तसम्म विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी सञ्चालन गरिएकोमा हाल सेवा क्षेत्र बढाएर विमानस्थलबाट पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, सहिदचोक, हल्लनचोकसम्म र पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, बिरौटा हुँदै लेकसाइडसम्म सञ्चालन गरिएको छ। दुई सिफ्टमा सञ्चालन गरिएका बस बिहान ६ बजेदेखि राति विमानस्थलमा उडान हुने समयसम्म सञ्चालन हुँदै आएका छन्।

यसअघि असार मसान्तसम्म महानगर यातायात प्रालिले सेवा सञ्चालन गरेकामा आयात गरिएका नयाँ बसहरू नयाँ भन्सार तथा कर दर लागू भएका कारण जाँचपास प्रक्रियामै रहेकाले ती बसहरू सञ्चालनमा आउन केही समय लाग्नेछ। हाल पोखरा बस सञ्चालक समितिसँग रहेका स्तरीय बसमार्फत सेवा सञ्चालन भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

विमानस्थलमा झरेका यात्रुहरूलाई बाहिर जान ट्याक्सीहरूले धेरै शुल्क लिएको गुनासो आएपछि सटल बस सेवा सञ्चालन गरिएको आचार्यले बताए। यात्रुहरूको गुनासोको समाधानसँगै सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको उनले बताए। सञ्चालनमा आएका बसहरू असार मसान्तसम्म निःशुल्क र १ साउनदेखि सशुल्क सञ्चालन गर्ने गरी सेवा सुरु गरिएको थियो। 

सटल बसको प्रभावकारिता हेरेर पूर्वमा बेगनास तालसम्म समेत सेवा विस्तार गर्ने योजना रहेको आचार्यले सुनाए। बस सेवाले आन्तरिक एवं बाह्य पर्यटकलाई फाइदा भएको मेयर आचार्यको भनाइ छ।
 

सुझावित समाचार