पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले बुधबार आफ्नो पहिलो खेलमा कजकस्तानको सामना गर्नेछ । हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन पाकिस्तान पुगिसकेको नेपाल भलिबल महासंघले जनाएको छ ।
नेपाली पुरुष भलिबल टोलीले पहिलोपटक एफआइभिबीको विश्व वरीयताको मान्यताप्राप्त प्रतियोगिता खेल्न लागेको हो ।
यस प्रतियोगितापछि विश्व भलिबलको मानचित्रमा नेपालको नाम समावेश हुनेछ । सेन्ट्रल एसियन भलिबल एसोसियसनले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।
‘ड्र’अनुसार दोस्रो खेलमा उज्वेकिस्तानले बंगलादेशविरुद्ध खेल्नेछ । तेस्रो खेल आयोजक पाकिस्तान र श्रीलंकाबिच हुनेछ । ६ टोली सहभागी च्याम्पियनसिपमा एकल राउन्ड रोविनका आधारमा खेल हुनेछ । शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । पाँचौँ र छैटौँ स्थानमा रहने टोलीले पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको सेमिफाइनल १२ साउन र फाइनल खेल १३ साउनमा हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली भिड्नेछन् । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन् । सुरुमा अफगानिस्तानले पनि खेल्ने भनिएकोमा अन्तिम समयमा सहभागी नहुने जानकारी दियो । त्यसपछि अफगानिस्तानको स्थानमा उज्वेकिस्तानले अन्तिम समयमा सहभागिता पक्का गरेको हो ।