वातावरण प्रदूषण गर्ने १२ उद्योगलाई १०–१० लाख जरिवाना

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिर्सियाआसपास सञ्चालित १२ उद्योगलाई कारबाही गरेको छ। जगदम्बा स्टिल, हुलास स्टिल, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, अशोक स्टिलसहित १२ उद्योगलाई १०–१० लाख रुपैयाँ जरिवाना गराएको हो।

सिर्सिया नदीआसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब एक महिनाको समय दिएर सूचना निकालको थियो। तर, उक्त सूचनालाई बेवास्ता गरेर वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कारबाही गरेको मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ।

वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमुना संकलन गरेको थियो। परीक्षणबाट १२ उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रतिउद्योग १० लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारबाहीमा परेका उद्योगमध्ये मधेश प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने ६ उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ बमोजिम हदैसम्मको कारबाही गर्न पत्राचार गरिएको छ।

मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ बमोजिम तेब्बर जरिवाना लाग्नेछ।

सुझावित समाचार