मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ।
गुठीका अनुसार यस वर्ष मदन पुरस्कारका लागि विभिन्न विधाका २९८ वटा पुस्तक प्राप्त भएका थिए। तीमध्ये मूल्यांकन प्रक्रियाबाट उत्कृष्ट १० कृति अन्तिम छनोटमा परेका हुन्।
अन्तिम सूचीमा परेका कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार याको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ रहेका छन्।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा छनोट भएका १० कृतिमध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।
