नेपालमा सोमबार एक हजार दुई सय ५० मेट्रिकटन डिएपी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार टन मलमध्ये १२ सय ५० मेट्रिकटन मल सोमबार आइपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयको सचिवालयले जनाएको छ ।
ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १२ सय ५० मेट्रिकटन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको हो । सो मल सोमबार नेपाल आइपुग्ने मन्त्रालयले जानकारी दिएको छ । बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आइतबार अर्को एक र्याक वीरगन्ज चलान भएको छ ।
बाँकी क्रमशः नेपाल भित्रिनेछ । त्यस्तै, ३० हजार मेट्रिकटन युरिया मलसमेत कोलकातामा आइपुगेको मन्त्रालयले जनाएको छ । हाल अनलोडिङ र ब्यागिङ भइरहेको हँुदा सोमबार एक रेक वीरगन्जका लागि लोडिङ गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।
सरकारले ग्लोबल टेन्डर तथा जिटुजीमार्फत खरिद गरेको कुल एक लाख १७ हजार मेट्रिकटन मल नेपाल आउने क्रममा छ । सरकारले खरिद गरेको ५७ हजार मेट्रिकटन डिएपी मल भारतका बन्दरगाहमा आइपुगेको तथा आइपुग्ने क्रममा छ ।