फिफाले पहिलोपटक तीन राष्ट्रलाई आयोजक बनाएर २३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्यो । विश्वकपमा सर्वाधिक ४८ राष्ट्रले सहभागिता जनाउँदा कुल १०४ खेल भए । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा रेकर्डहरू बने । केही खेल विवादास्पद भए । फिफाले अहिलेसम्मकै सफल आयोजना भनिरहँदा प्रतियोगितामा केही विवाद भने देखिए । इरानलाई खेलको दिनै अमेरिकाबाट फर्किनुपर्नेदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिधा निर्देशनमा रातो कार्ड फिर्ता लिनुसम्म विवादास्पद निर्णय देखिए । विश्वकपका केही विवाद यस्ता छन् :
सोमालियाका रेफ्रीलाई अमेरिका प्रवेशमा निषेध
विश्वकप सुरु हुनु दुई दिनअघि अमेरिकाले सोमालियाका रेफ्रीलाई प्रवेश नै दिइए । सोमालियाका रेफ्री ओमार अर्टन विश्वकप खेलाउन छनोट भएका थिए । उनी अमेरिकाको फ्लोरिडाको विमानस्थलबाट घर फर्किए । उनलाई अमेरिकाले भिसा नै उपलब्ध गराएन । अमेरिकाले सोमालियासँगै विश्वकपमा छनोट भएका हैटी, इरान, सेनेगल र आइभोरी कोस्टसहित १२ राष्ट्रलाई आतंकवादी संगठनको साथ दिएको भन्दै प्रवेश निषेध गरेको थियो । यसकारण रेफ्री ओमारले अमेरिका प्रवेश गर्न पाएनन् । उनलाई फिफाले सबै भत्ता उपलब्ध गराएको छ ।
इरानले खेलेकै दिन अमेरिका छाड्नुपर्ने
अमेरिकासँगको राजनीतिक द्वन्द्वका कारण इरानी खेलाडीले अन्तिम समयमा भिसा पाएका थिए । अमेरिकाले इरानलाई भिसा दिँदा एउटा कठिन प्रस्ताव राखिएको थियो । उनीहरू मेक्सिकोमा बस्नुपर्ने र खेलेकै दिनै अमेरिकाबाट फर्किनुपर्ने
अमेरिकाको निर्देशन थियो । इरानले भिसा पाए पनि आठ घण्टासम्म अध्यागमन विभागले विमानस्थलमा रोकेर केरकार गरेको थियो समूह चरणमा इरानका सबै खेल अमेरिकामै थियो । खेल सकिएलगत्तै उनीहरू मेक्सिको फर्किएका थिए । इरानीहरूले आफ्नो अन्तिम खेलपछि अमेरिकालाई ७४ शब्दमा अतिथि सत्कारको निमित्त धन्यवाद भनी टिप्पणी गरेका थिए ।
बालोगुनको रातो कार्ड फिर्ता
२३औँ संस्करणको विश्वकपमा सबैभन्दा चर्चित घटना रातो कार्ड बन्यो । अमेरिकाका स्ट्राइकर फ्लोरिन बालोगुनले समूह चरणमा रातो कार्ड पाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फिफाले बेल्जियमविरुद्ध निलम्बनमा रहेका बालोगुनलाई खेल्न दिइएको थियो । बेल्जियमले एकपक्षीय खेलमा अमेरिकालाई हरायो । फिफा अध्यक्ष इन्फान्टिनो अनुशासन कमिटीको निर्णय भन्दै पन्छिएका थिए । युरोपियन फुटबल महासंघ र विभिन्न देशका फुटबल संघले फिफाको यस निर्णयको आलोचना गरेका थिए ।
रेफ्री र भिएआरको आलोचना
फिफाले विश्वकप २०२६ मा रेफ्रीलाई सहज बनाउन थुपै्र सुविधा प्रदान गरेको थियो । खेलका दौरान गम्भीर गल्ती नहोस् भनी रेफ्रीलाई भिडियो असिस्टेन रेफ्री (भिएआर)को सुविधासमेत दिइएको थियो । विश्वकपमा रेफ्री र भिएआरको निर्णय निकै आलोचना भयो । सबैभन्दा ठुलो आलोचना र विवाद अर्जेन्टिना तथा इजिप्टको खेलमा थियो । इजिप्टका मुस्ताफा जिकोले ६२औँ मिनेटमा गरेको गोललाई मान्यता दिएर भिएआरको सहयोगमा उल्ट्याइएको थियो । अर्जेन्टिनाले ११ मिनेटभित्र तीन गोल गर्दै ३–२ को जित निकालेपछि विवाद सतहमा आयो । स्विट्जरल्यान्डलाई हराउँदा ब्रिल एम्बोलोलाई दिइएको रातो कार्डको निर्णय पनि विवादमा पर्यो ।
हाइड्रेसन ब्रेक
फिफाले अमेरिकामा अत्यधिक गर्मी हुने भन्दै हाइड्रेसन ब्रेक सुरु गर्यो । दुवै हाफमा तीन मिनेट पानी खानका लागि यो नियम ल्याइएको थियो । विश्वकपका सबै खेलमा हाइड्रेसन ब्रेक भयो । यो नयाँ प्रयोग निकै विवादमा तानियो । केही खेलमा गर्मी नभएको भन्दै आलोचना भएको थियो । फिफाले विज्ञापनबाट अर्बौँ डलर कमाउन हाइड्रेसन ब्रेक नियम ल्याएको भन्ने आरोप लागेको छ ।