अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारकाे आरोपमा चितवनबाट एकजना पक्राउ

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा चितवनबाट एकजना पक्राउ परेका छन्। कालिका नगरपालिका– ६, खोलेसिमलका ४४ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

उनको साथबाट बरामद मोबाइलमा बेटिङ गर्न पैसा लोड र अनलोड गर्ने ‘मोबक्यास’ नामको एप्लिकेसनको खातामा दुई लाख ७९ हजार ६२९ रुपैयाँको इपोस लिमिट र १३ लाख ८२ हजार २० रुपैयाँ ब्यालेन्स रहेको पाइएको प्रहरीले जनाएको छ। उक्त खाताबाट तीन महिनामा कुल ३८ लाख ९५ हजार १८ रुपैयाँ कारोबार भएको बताइएको छ।

यसैगरी, उनको अर्को मोबाइलमा क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने ‘बाइनान्स’ एप्लिकेसनमा रहेको खाताबाट ३३ हजार १५० अमेरिकी डलर (५० लाख ९८ हजार १८९ रुपैयाँ) कारोबार भएको पाइएको छ। 

श्रेष्ठलाई अभौतिक मुद्रा संचय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार