जन्तेढुंगामा बाँझो जमिन उपयोग कार्यक्रम : आलु र तितेफापर उत्पादनमा जोड

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

खोटाङको जन्तेढुंगा गाउँपालिकाले यस वर्ष साढे तीन हजार केजी आलु फलाएको छ। गाउँपालिकाले सञ्चालन गरेको आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा नं. ४ डम्बर्खुशिवालयको भन्ज्याङखर्कमा आलुखेती लगाइएको थियो।

बाँझो जमिन उपयोगमा ल्याएर उत्पादन गरिएको आलुलाई भण्डारण गरेर बिक्री–वितरणको व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिएका छन्। गाउँपालिकाले चिसापानीमा सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएको आलु प्रतिकेजी रु. ६० का दरले बिक्री सुरु गरिएको जनाइएको छ।

गाउँपालिकाले सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएका आलुमध्ये एक हजार २७० केजी आलु बिक्री भइसकेको गाउँपालिकाका प्राविधिक सहायक तोसल भट्टराईले जानकारी दिए। आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाले आन्तरिक स्राेतमा जम्मा गर्ने व्यवस्था मिलाएको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले गत वर्षदेखि आलु तथा तितेफापर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। भन्ज्याङखर्कमा रहेको करिब ६० रोपनी सार्वजनिक जग्गामा गाउँपालिकाले आलु तथा फापरखेती गर्दै आएको छ।

गाउँपालिकाभित्र रहेका बाँझो जमिन उपयोगमा ल्याउने गाउँपालिकाको नीतिअनुसार गत वर्ष पहिलोपटक ११ मुरी तितेफापर उत्पादन गरेको थियो। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत उत्पादित तितेफापर प्रतिकेजी रु. ८० मा बिक्री गर्ने गरी सूचना जारी गरिएको छ।

स्थानीय राजस्व परामर्श समितिको निर्णयअनुसार गाउँपालिकाले उत्पादन गरेको आलु र तितेफापरको मूल्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले जानकारी दिए। समितिको बैठकले ५० केजीभन्दा बढी आलु खरिद गर्ने ग्राहकका लागि प्रतिकेजी रु. दुईका दरले छुट दिनेसमेत निर्णय गरेको छ।

गाउँपालिकाले सञ्चालन गरेको बाँझो जमिन उपयोगमा ल्याउने कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिका अध्यक्ष अरुणादेवी राई ‘दीक्षा’ले बताइन्। ‘गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। यो प्रभावकारी बन्दै गएको छ। तितेफापर लोप हुने अवस्थामा छ। यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ,’ उनले भनिन्, ‘गाउँपालिकाले उत्पादन गरेको तितेफापर बिक्रीका लागि कोसेली घर स्थापना गरिएको छ। चिसापानी बजारमा स्थापना गरिएको कोसेली घरमा किसानले उत्पादन गरेका रैथाने बाली खरिद गरी भण्डारण गरेर बजारसम्म पुर्याउने काम गाउँपालिकाले गर्छ।’

छिमेकी जिल्ला भोजपुरको सीमानामा पर्ने भन्ञ्याङखर्कमा यस वर्ष पनि तिते फापरखेती गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले तितेफापर खेतीका लागि जमिन खनजोत गर्न, बिउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाउने गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिइन्।

गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका नागरिकलाई व्यावसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ। आफूले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले उचित मूल्यमा खरिद गरेर बिक्री गर्ने नीति ल्याएपछि किसानहरूसमेत उत्साहित बनेका छन्।

सुझावित समाचार