सोफा हब, काठमाडौं प्रालिले स्थापनाको छैटौँ वार्षिकोत्सव शुक्रबार विविध कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा कम्पनीले विभिन्न व्यक्तिलाई पुरस्कृतसमेत गरेको छ । कम्पनीले केही समयअघि भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगिताका विजेता अनिश चापागाईं प्रथम बनेका छन् । उनलाई नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको छ । साथै, टिम ४४४ द्वितीय तथा सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय भएका थिए । उनीहरूले क्रमशः हुँदै ५० हजार र २५ हजार नगद प्राप्त गरेका छन् । त्यसैगरी, रातोपाटी डटकमका सहायक सम्पादक राजकुमार सिग्देललाई नगद २० हजारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल ब्रान्ड निर्माणको उदाहरणका रूपमा प्रशंसा गर्दै नेपालमै बसेर पनि सफल व्यवसाय निर्माण गर्न सकिने सन्देश दिएको बताए ।
उनले छोटो अवधिमै देशभर ११ शाखामार्फत सेवा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको प्रतिबद्धता तथा निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे । साथै, हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको उद्योगले आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दिशामा सोफा हब अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए । उनले जनकपुरमा कम्पनीको १२औँ शाखा सञ्चालनको तयारी पूरा भइसकेको र दाङमा पनि छिट्टै नयाँ शाखा विस्तार गरिने जानकारी दिए ।