कविता : टुहुरो यो घर

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

यो घर आज पनि उभिएको छ
उही आँगन, उही ढोका 
उही भित्ताहरूसँग अडिएर 
छोडिजाने, बिर्सिजानेहरूको यादमा एक्लै 
सम्झनाहरू बोकेर !

यही घरको आँगन डिलमा 
मखमली फूल रोपी राखेर 
एउटी चेली
गन्तव्यविहीन बताससँग
कहिल्यै नफर्किने गरी हराएकी छिन्
उनको सम्झनामा बाँकी छन् अब 
त्यही मखमली फूलहरू मात्र !

यही घरको तीन चुलो अँगेनीमा 
आगो भर्भराउँदा 
परदेशीको बाटो हेर्दै 
समय गनिरहने आमा 
माटोको दुई मुठी मट्टीको
अन्तिम सम्झना बोकेर
यही तीन चुलोमा मुधुमले बाँधिएकी छिन्
अब सम्झनामा बाँकी छ
आदिम इतिहास बनेर 
त्यही माटो, ढुंगाको एउटा चिहान !

यही घरको सँघार काटेर पोक्चे बाबु 
केही रहर केही सपनाहरूको पहाड बोकेर 
सहर पसेका हुन्
आजभोलि सीमापारिबाट नै 
यादहरूको सम्झना पठाउँछन्
उनलाई पनि 
कति सताउँदो हो एक्लोपनले
हुँदो हो पीडा 
आमा र बहिनी गुमाउनुपर्दाको
कति रुँदो हो एक्लो मन 
हरेक वर्ष फेरिरहन्छ यो घरको छानो
यही घरको भित्ताको खोपीमा होला 
अनगिन्ती सम्झनाको खात 
तर, उनी अझै फर्किएका छैनन् !

See More On

सुझावित समाचार