जेन–जी पुस्ताको नेतृत्वमा दुई वर्षअघि बंगलादेशमा भएको जुलाई जनआन्दोलन (जुलाई मास अपराइजिङ)को काठमाडौंमा स्मरण गरिएको छ । काठमाडौंस्थित बंगलादेशी दूतावासको आयोजनामा सो आन्दोलनका सहिदहरूको सम्झनामा बिहीबार ‘जुलाई सहिद दिवस–२०२६’ मनाइएको हो ।
कार्यक्रममा बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देश वाचन गरिएको थियो । साथै, जुलाई आन्दोलनको पृष्ठभूमि र महत्त्व झल्काउने वृत्तचित्र प्रदर्शन तथा सहिदहरूको आत्माको चिरशान्तिका लागि विशेष प्रार्थना गरिएको बंगलादेशी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा जुलाई जनआन्दोलनको ऐतिहासिक महत्त्वबारे छलफलसमेत आयोजना गरिएको थियो। छलफलमा नेपालस्थित बंगलादेशी समुदाय, नेपालमा अध्ययनरत बंगलादेशी विद्यार्थी, विभिन्न थिंकट्यांक तथा अनुसन्धान संस्थाका प्रतिनिधिका साथै नेपाली युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपालका लागि बंगलादेशका राजदूत सफिकुर रहमानले जुलाई २०२४ को जनआन्दोलनले निरंकुश शासन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। ३६ दिनसम्म चलेको उक्त आन्दोलन विभेद, भ्रष्टाचार, जबर्जस्ती बेपत्ता पार्ने, हत्या, मतदान अधिकारबाट वञ्चित गर्ने तथा दमनकारी शासनविरुद्ध जनआक्रोशको अभिव्यक्ति भएको उनको टिप्पणी थियो।

राजदूत रहमानले विशेषगरी युवा पुस्ता र ‘जेन–जी’ विद्यार्थीहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूले बंगलादेशको सामाजिक–राजनीतिक रूपान्तरण र लोकतान्त्रिक आकांक्षालाई नयाँ दिशा दिएको बताए। जुलाई आन्दोलनको भावना शान्ति, न्याय र समावेशी विकासतर्फ राष्ट्रलाई प्रेरित गरिरहने उनको विश्वास छ।
कार्यक्रममा नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआइआइसिई) का अनुसन्धान निर्देशक डा. प्रमोद जैसवाल, ढाकास्थित ‘पोलिसी हाउस’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. फोयसल खान तथा सार्क सचिवालयका निर्देशक तनवीर अहमद तरफदरले पनि सम्बोधन गरेका थिए।