नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजीबजारलाई एक दशकमा पूर्ण रूपमा रूपान्तरण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । उनले अर्थ मन्त्रालयलाई बुझाएको ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ मा सन् २०३६ सम्म नेपालको बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन)लाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १५० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य राखिएको छ । साथै, सूचीकृत कम्पनीको संख्या पाँच सयभन्दा बढी पुर्याउने र नेपाललाई दक्षिण एसियाकै प्रतिस्पर्धी पुँजीबजारमध्ये एक बनाउने दीर्घकालीन लक्ष्यसमेत तय गरिएको छ ।
यसले पहिलो १०० दिन, दुई वर्ष, पाँच वर्ष र १० वर्ष गरी चरणबद्ध सुधारको खाका प्रस्तुत गरेको छ । अध्यक्ष भट्टले यसलाई कार्यान्वयन गर्न सरकार र अर्थ मन्त्रालयले तत्कालदेखि दीर्घकालीन रूपमा लिनुपर्ने नीतिगत निर्णयसमेत सिफारिस गरेका छन् ।
एक सय दिनभित्र : धितोपत्र ऐन संशोधन प्रक्रिया सुरु
मार्गचित्रअनुसार पहिलो चरणमा एक सय दिनमा धितोपत्र ऐन संशोधन प्रक्रिया सुरु गर्न सिफारिस गरिएको छ । त्यस्तै, प्राथमिक सेयर निष्कासन (आइपिओ) प्रणालीलाई समयानुकूल बनाउने र पुँजीबजार सुधार कार्यान्वयन एकाइ स्थापना गर्ने उल्लेख छ ।
यससँगै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को संस्थागत पुनर्संरचनाको विषय पनि उल्लेख छ । दीर्घकालीन सुधारलाई निरन्तरता दिन ‘भिजन–२०३६ कार्यान्वयन कार्यदल’ गठन गर्ने योजना पनि पहिलो चरणमै समावेश गरिएको छ ।
दुई वर्षभित्र : कर्पोरेट बन्ड र एसएमई एक्सचेन्ज
दोस्रो चरणमा पुँजीबजारको दायरा विस्तारमा जोड दिइएको छ । दुई वर्षभित्र नेपालमा कर्पोरेट बन्ड बजार सञ्चालनमा ल्याउने उल्लेख छ । साना तथा मझौला उद्योग (एसएमई) का लागि छुट्टै एसएमई एक्सचेन्ज स्थापना गर्ने भनिएको छ । यसले बैंक ऋणबाहेक वैकल्पिक वित्त जुटाउने बाटो खोल्ने अपेक्षा गरिएको छ । यही अवधिमा हरित परियोजनाका लागि ग्रिन बन्ड फ्रेमवर्क लागू गर्ने, एआईमा आधारित बजार निगरानी प्रणाली सञ्चालनमा ल्याउने तथा देशव्यापी लगानीकर्ता शिक्षा अभियान सञ्चालन गर्ने योजना छ ।
पाँच वर्षमा आधुनिक वित्तीय उपकरण र विदेशी लगानी
पाँच वर्षभित्र नेपाली पुँजीबजारमा हालसम्म प्रयोग नभएका आधुनिक वित्तीय उपकरण भिœयाउने योजना छ । यसअन्तर्गत आरइआइटी, इटिएफ र इन्भिट्स सञ्चालनमा ल्याउने योजना छ ।
यस्तै, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलसम्बन्धी कानुनी संरचना पूर्ण रूपमा कार्यान्वयन गर्ने मार्गचित्रमा उल्लेख छ । योग्य विदेशी संस्थागत लगानीकर्तालाई नेपाली पुँजीबजारमा प्रवेश दिने व्यवस्था गराउने भनिएको छ । डिजिटल पुँजीबजार प्लाटफर्म सञ्चालनमा ल्याइने र पुँजीबजार अध्ययनका लागि छुट्टै क्यापिटल मार्केट रिसर्च इन्स्टिच्युट स्थापना गर्ने योजना पनि यस अवधिमा समेटिएको छ ।
सन् २०३६ सम्ममा नेपाललाई दक्षिण एसियाकै आधुनिक र प्रतिस्पर्धी पुँजीबजारका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । मार्गचित्रले विगत तीन दशकमा नेपाली पुँजीबजारले संस्थागत रूपमा उल्लेखनीय प्रगति गरे पनि यसको आकार, गहिराइ, वित्तीय उपकरणको विविधता, प्रविधि, नियामकीय क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा अझै ठुलो सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
त्यसैले नयाँ रणनीतिले कानुनी तथा नियामकीय सुधार, संस्थागत क्षमता अभिवृद्धि, कर्पोरेट बन्ड बजार विस्तार, वैकल्पिक वित्तीय उपकरणको विकास, स्टार्टअप वित्तपोषण, विदेशी संस्थागत लगानी आकर्षण, कृत्रिम बुद्धिमत्ता र ब्लकचेनमा आधारित डिजिटल रूपान्तरण, लगानीकर्ता संरक्षण, वित्तीय साक्षरता तथा इएसजी र हरित वित्तलाई सुधारको केन्द्रमा राखेको छ ।
सर्ट सेलिङ ल्याउँदै सेबोन
चालू आर्थिक वर्षको बजेट र सेबोनको नीतिमा समेटिएको नयाँ वित्तीय उपकरण ‘सर्ट सेलिङ’ छिट्टै कार्यान्वयनमा ल्याउनले तयारीमा सेबोन छ । अध्यक्ष भट्टका अनुसार बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर तत्काल बिक्री गर्ने र पछि मूल्य घटेपछि खरिद गरेर फिर्ता गर्न सक्नेछन् ।
उनका अनुसार सर्ट सेलिङ लागू भएपछि बजारमा दुई फरक धारणा भएका लगानीकर्ताको सहभागिता बढ्नेछ र बजार एकतर्फी रूपमा सधैँ बढ्नुपर्छ भन्ने दबाब हट्नेछ ।
नेप्से सधैँ उकालो मात्र लाग्दैन : अध्यक्ष भट्ट
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले कुनै पनि देशको सेयरबजारको सूचक निरन्तर उकालो मात्र नलाग्ने बताएका छन् । संसद्को अर्थ समितिमा बोल्दै भट्टले सेयरबजार सधैँ बढिरहनुपर्छ भन्ने लगानीकर्ताको धारणा गलत भएको बताएका छन् । उनले भने, ‘बजार ३००० मा पुगेर पनि कोही खुसी हुनेवाला छैन, ३५०० पुगे पनि हुनेवाला छैन र ५००० पुगे पनि हुनेवाला छैन । यसको कुनै लिमिट छैन । त्यसो हो भने बजार सधैँ बढिरहन त सक्दैन । संसारको कुनै पनि इन्डेक्स लगातार बढ्नेवाला छैन ।’
बजार उच्च विन्दुमा पुगेपछि सामान्य करेक्सन हुँदा पनि नियामकमाथि दबाब पर्ने गरेको उनले बताए । नेपालमा सेयरको मूल्य बढेपछि मात्रै प्रतिफल प्राप्त हुन्छ भन्ने परम्परागत सोचले पनि यस्तो मानसिकता विकास गरेको उनको भनाइ छ । यस्तै, अवस्थालाई परिवर्तन गर्न बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन लागिएको उनले जानकारी दिए । ‘अब बजार जतासुकै जाओस्, लगानीकर्ताले प्रतिफल लिन सक्ने मेकानिजम बनाउँदै छौँ । बजार तल जाँदा पनि प्रतिफल आउँछ र माथि जाँदा पनि प्रतिफल आउँछ,’ उनले भने । लगानीकर्ताको खरिद–बिक्रीको निर्णय उनीहरूको आफ्नै अध्ययन, विश्लेषण र अपेक्षामा आधारित हुने भएकाले त्यसमा नियामकले हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे ।
नेप्सेको पुनर्संरचना अगाडि बढाउन समितिको निर्देशन
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पुनर्संरचनासम्बन्धी कार्य तदारुकताका साथ अगाडि बढाउन अर्थ समितिले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय गरेको छ । सेयरबजारप्रति समग्र लगानीकर्ताको विश्वास र मनोबल बढाउन पुँजीबजारको आधुनिकीकरण र धितोपत्रको विविधीकरण एवं विस्तार तथा पारदर्शी नियमन गर्न समितिले निर्देशन दिएको हो ।