टल्किने क्रिस्टललाई बहुमूल्य पदार्थ भएको भन्दै ठगी गरेको आरोपमा पोखराबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–२६ कालिकाचोक बस्ने ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका–५ बस्ने २९ वर्षीय दीपक गोतामे, पोखरा–२८ बस्ने ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वतको फलेवास नगरपालिका–५ बस्ने ३५ वर्षीय राजन विश्वकर्मा, फलेवास–५ बस्ने २९ वर्षीया रोशनी सुनार र सोही स्थानकी ७२ वर्षीया खैसरा सुनार रहेका छन्।
१० लाख ठगी गरी पुनः २० लाख माग्ने क्रममा पक्राउ
पक्राउ परेकाहरुले फागुन ०८२ मा पोखरा महानगरपालिका–१८ बस्ने दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग रहेको वस्तु 'अन्धकारमा प्रकाश दिई उज्यालो बनाउने, पानीलाई जमाई डल्लो बनाउने तथा फूलको कोपिलालाई ढकमक्क फूलमा परिणत गर्ने अद्भुत शक्तिशाली बहुमूल्य क्रिस्टल' भएको भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनीहरूले उक्त क्रिस्टल बिक्री गर्दा अर्बौं रुपैयाँ पर्ने भन्दै तिमिल्सिनालाई फोटो र भिडियोसमेत देखाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी गत फागुनमा १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
त्यसपछि उनीहरूले गत २८ असार ०८३ गते पुनः सम्पर्क गरी थप २० लाख रुपैयाँ माग गरेका थिए। विभिन्न डरत्रास देखाउँदै धम्की दिएर रकम नदिए राम्रो नहुने बताएपछि तिमिल्सिनाले प्रहरीलाई खबर गरेका थिए।
धम्की दिएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पोखरा–२६ कालिकास्थान छहारीस्थितबाट पक्राउ गरेको हो।
प्रहरीले घटनामा संलग्न ६ जनालाई सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो आकारको वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, चार्जर एक थान र मोबाइल ६ थानसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी पासवानले जानकारी दिए।