एकपछि अर्को आत्मदाहको घटनाले के संकेत गर्छ ?

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

समाजशास्त्री प्रकाश राईलाई ३ प्रश्न

एकपछि अर्को आत्मदाहको घटनाले के संकेत गर्छ ?
यस्ता हरेक ‘इन्डिभिज्युअल’ घटनाका कारण फरक फरक हुन्छन् । पछिल्ला तीन दिनमा भएका तीन आत्मदाहका घटनाका फरक–फरक विशिष्ट कारण हुन सक्छन् । गणेश नेपालीको घटनामा चाहिँ जनताले दैनिक नजिकबाट भेट्ने नगर प्रहरीको कठोर र अमानवीय व्यवहार जिम्मेवार देखिन्छ । नागरिकलाई आफूमाथि राज्यका कुनै निकायबाट भइरहेका व्यवहार गलत लागेमा त्यसको गुनासो गर्ने अर्को ठाउँ छ भन्ने विश्वास नभएमा निराश जनताले गर्ने विद्रोह या चरम निराशाको प्रकटीकरण हो यो आत्मदाह प्रकरण । जब युवाले आफ्नो आर्थिक भविष्य सुरक्षित देख्दैनन्, राज्यप्रतिको भरोसा कमजोर हुन्छ तब यस्ता अकल्पनीय निर्णय गर्छन् ।

यस्ता घटना हुन नदिन राज्यको भूमिका कस्तो हुनुपर्छ ?
पक्कै पनि यो सरकारप्रति आमजनताको अत्यन्त ठुलो भरोसा छ । सरकारले दैनिक सेवाप्रवाहमा केही गरेजस्तो सकारात्मक प्रभाव देखाएको भए पनि सुरक्षित आर्थिक भविष्यको खोजी गरिरहेका युवालाई सम्बोधन गर्न भने पटक्कै सकेको छैन । देशमा रोजगारी बढेको छैन । उद्योगधन्दा फस्टाउन सकेको छैन । निजी क्षेत्र हतोत्साहित भएको देखिन्छ । यस्तोमा सरकारले आमनागरिकमा आशा जगाउन र तिनका दुःखमा साथ दिन आफूमा भएको विश्वास दिलाउन सक्नुपर्थ्यो । हो, राज्य यहीँनिर चुकिरहेको छ । जसको प्रकटीकरण तीन दिनमा भएका तीन आत्मदाहका घटना हुन् । 

यस्तो अवस्थामा नागरिक समाजले चाहिँ के गर्नु ठिक हुन्छ ?
नागरिक समाजले जहिल्यै राज्यलाई सकारात्मक दिशामा ‘ओरियन्ट’ गर्न सक्नुपर्छ । राज्य र नागरिकबिच कमजोर हुँदै गएको विश्वासको वातावरण बलियो बनाउन राज्यलाई प्रश्न गर्नु, घचघच्याउनु, नागरिकका गुनासा सुनाउनु र नागरिकका निराशा चिर्न बाटो देखाउनु पनि नागरिक समाजकै धर्म हो । नागरिक समाजले नागरिकको निराशाबारे राज्यलाई ऐना देखाउन सक्नुपर्छ । र, यसलाई राज्यले पनि सकारात्मक रूपमा लिएर नागरिक तहमा थुप्रिएको निराशा चिर्न तत्काल ठोस पहल गर्नुपर्छ । 

See More On

सुझावित समाचार