आफैँमा केही पनि होइन, ‘टाइम जोन’ले निर्धारण हुन्छ मेरो मापन । म त्यही समयमा कतै रातिको १० बजेको हुन्छु, कतै बिहानको सात बजेको हुन्छु । सबैका लागि म नै बलवान् छु, मेरो प्रसंग उल्लेख नहुने मानवीय दैनिकी कमै हुन्छ होला । तर, मेरो परिचय अनि पहिचान मेरो नियन्त्रणमा हुन्न । म कति हो, त्यो अरूले निर्धारण गर्छन् । त्यसैले अरूका लागि म मूल्यवान् भए पनि म मेरा लागि भने केही होइन ।
तर, कहिलेकाहीँ मलाई उदेक लाग्छ, दिग्दारी लाग्छ, रिस उठ्छ, म पनि उदास हुन्छु । आखिर यो मनुवा जातिले मलाई कसरी आफ्ना संवेदनाका पत्रअनुसार प्रयोग गर्छन् ! झन् अचम्म त त्यतिवेला लाग्छ जतिवेला मेरो मान एउटै हुने वेलासमेत मानवीय संवेदना भने त्यही क्षणमा बिल्कुल विपरीत रूपमा प्रकट हुन्छ ।
उदाहरणका लागि, बिहान ६ बजे एकजना मानिस ब्युँझिन्छ । अनि उसले आफ्नो फेसबुक खोल्छ । अलिकति स्क्रोल गरेपछि एकजनाको जन्मदिनको पोस्ट देख्छ । मुस्कानजन्य मुहारको छाला तन्किन्छ । अनि उसले लेख्छ– हेप्पी बर्थ डे । अलि नजिकको रहेछ भने एक–दुईवटा इमोजी राख्न पनि कन्जुस्याइँ गर्दैन । त्यसपछि उसले फेरि स्क्रोल गर्छ । अकस्मात् उसको आँखा एउटा पोस्टमा पर्छ । त्यहाँ उसकै मित्रहरूमध्ये कसैले लेखेको हुन्छ, ‘हजुरबुबा, हजुरलाई जोगाउन सकिएन, अब हजुरका सम्झना मात्र बाँकी । हार्दिक श्रद्धाञ्जली ।’ एक निमेषअघि कसैको पोस्टमा जन्मदिनको शुभकामना लेखेको उसले अब भने लेख्छ– ‘हार्दिक श्रद्धाञ्जली । परिवारजनमा समवेदना ।’ म त्यहीँ छु । म ६ बजेर शून्य मिनेटबाट ६ बजेर ५ मिनेट भएको छु । तर, त्यो मनुवाको मस्तिष्क भने जन्मदिनको शुभकामनाबाट श्रद्धाञ्जलीसम्म पुगिसकेको छ ।
कहिलेकाहीँ त बाह्य संसार मात्रै होइन, उही समयमा मानिसकै मनभित्र समेत फरक र अन्तरविरोधी विचार सल्बलाइरहेका हुन्छन् । बाध्यता या स्वार्थ, जे भनौँ, मानिसले आफूलाई प्रकट गर्दा भने केवल लाभ हुने किसिमले मात्रै गर्छ । जस्तो कि, मन्त्रीले सचिव या कुनै कर्मचारीलाई निर्देशन दिँदा प्रकटमा उसले ‘हुन्छ हजुर’ भनिरहेको हुन्छ, तर ठिक त्यही समयमा उसको मनमा भने मन्त्रीप्रति चरम वितृष्णा झल्किएको हुन्छ । मैले त कतिसम्म देखेको छु भने, एउटै समयमा, उही क्षणमा कुनै मानिसले आफ्नी श्रीमतीसँग रतिराग गरिरहँदा पनि उसको मनमा कुनै अर्कै महिलाको तस्बिर नाचिरहेको हुन्छ । शारीरिक रूपमा त ऊ श्रीमतीमाथि समर्पित देखिन्छ, तर उसको उत्तेजना भने अर्कै महिलासँगको संसर्गको कल्पनाले उत्पन्न भइरहेको हुन्छ । मलाई अचम्म लाग्छ– आखिर यो मानिस भन्ने जात के हो ? कसरी बाँच्न सक्छ यसरी उही समयमा फरक संवेदना बोकेर ? यदि मान्छेको मनका पत्र–पत्र देखिने कुनै ऐना हुन्थ्यो भने, के मानिस आफ्नै मनको त्यो विद्रुप रूप देखेर जीवित रहन सक्थ्यो होला र ?
यी अब सामान्य लाग्न थाले मलाई । तर, कहिलेकाहीँ केही घटना भने साह्रै पीडादायी हुन्छन् । हिन्दी साहित्यका एकजना मूर्धन्य कथाकार छन् उदयप्रकाश । उनले यस्तो अवस्थालाई सटिक रूपमा वर्णन गरेका हुन्छन् । जस्तो कि, कहिलेकाहीँ के हुन्छ भने मानवीय संवेदनाका अत्यन्तै संवेदनशील क्षणमा देखिने फरक व्यवहार र संवेदनाका पाटाहरू निकै डरलाग्दा हुन्छन् ।
अस्तिको कुरा, कर्णाली राजमार्गमा गइरहेको एउटा माइक्रोबस दुर्घटना हुन पुग्छ । गाडी कर्णाली नदीमा खस्यो । एकजना मानिस झ्यालबाट खसेर भिरको रुखमा अड्किन पुगे । नदीमा गाडी खसेपछि त्यसमा रहेका यात्रुहरूले आफ्ना आफन्त सम्झिए होलान् । मृत्यु निकटताको अनुभूतिले उनीहरूको मनस्थिति के भयो होला ? अनि निरूपाय मृत्यु अँगाल्दाको क्षण ! म केही बोल्न सकिनँ ।
ठिक त्यही समयमा सरकारका एकजना मन्त्री हेलिकोप्टरमा कर्णाली जाँदै थिए । उनले झ्यालबाट कर्णालीको सुन्दरता नियालिरहेका थिए, ‘वाह ! स्वर्गको टुक्रा !’ उनले सम्भवतः आइफोन प्रो–म्याक्सले कर्णालीको प्राकृतिक वैभव आफ्नो क्यामेरामा कैद गरिरहेको थियो होला । ठिक त्यही समयमा विपत्मा उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिने गृहमन्त्री भने ‘जनतालाई सुविस्ता दिन’ गोप्य रूपमा पूर्वी नेपालका जिल्लाहरूको भ्रमणमा थिए । उनी कोही सम्पर्कमा थिएनन्, त्यसैले सम्बन्धित निकायका कसैले सम्पर्क गर्न चाहे पनि उनी सम्पर्कमा आउन सकेनन्, न त उनले फेसबुक नै चलाए । जानकारी पाएको भए के थाहा उद्धारका लागि हेली पठाउँथे कि ?
त्यही वेला सरकारको नेतृत्व गर्ने दलका सभापति भने पार्टी र सरकारको सन्तुलन मिलाउन विधानका बुँदा थपघट गर्ने मेसोमा कतै बसेका थिए । कामका लागि संसदीय दलको नेताभन्दा पार्टी सभापति पद ठुलो हो भन्ने कुराको वैधता सिद्ध गर्नु उनका लागि मुख्य थियो । उता यही समयमा प्रतिपक्षी दलका नेता भने वर्तमान सरकारलाई साम्राज्यवादीहरूले बनाएको भन्दै सहानुभूति बटुल्न भाषण गर्दै थिए । वामपन्थका नाममा भुइँमान्छे बिर्सेर मध्यम र उच्च वर्गको सेवामा झुकेकै कारण यो परिणति भएको मान्न उनको मनले मानिरहेको थिएन । दागैदागको इतिहास भए पनि सेतो लुगामा ‘हा जे छौँ ठिक छौँ, कसैले सिकाउनुपर्दैन’ भन्ने दम्भ पोख्दै थिए उनी ।
ठिक त्यही समय अर्का प्रतिपक्षीले चाहिँ संवेदना दिँदै घाइतेहरूको उद्धारका लागि अपिल गर्दै थिए । यो उनको मनैदेखिको संवेदना थियो या औपचारिकता, त्यो भन्न सकिएन । र, ठिक यही समयमा प्रदेशको राजधानी सुर्खेतमा सत्तापक्ष र प्रतिपक्षबिच समृद्ध कर्णालीका लागि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको विषयले ठुलो विवाद भइरहेको थियो । सांसदहरूले भनेअनुसार बजेट पाए कर्णाली एकैरात समृद्ध हुनेवाला थियो ।
यति मात्र होइन, ठिक त्यही समयमा एकजना एनजिओकर्मी आजै राजधानीमा हुने कर्णालीका जनताको उत्थान र क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन कोटपाइन्ट लगाउँदै थिए । अनि यही समयमा कुनै व्यापारी कर्णालीको जडीबुटीको सौदा गर्न भारतीय व्यापारीलाई इमेल लेखिरहेको थियो । र, ठिक यही समयमा कर्णालीमा खसेको गाडीमा सवार एकजना यात्रुको पाँच वर्षको छोरा, ‘बुबा खै किन आउनुभएन, मलाई खेलौना गाडी ल्याइदिन्छु भन्नुभएको थियो त, खै आउनुभएको अहिलेसम्म ?’ भन्दै आफ्नी आमालाई प्रश्न गर्दै थियो ।
पाठकवृन्द, यो एउटा घटना हो, हालसालैको भएर उल्लेख गरेको । म त हरेक घटनाको साक्षी हुँ । त्यसैले मलाई जति पीडा कसैलाई हुन्छ होला र ? उही समयमा एकजना महिला बलात्कृत हुन्छिन् र त्यही वेला एकजना पुरुष चरम आनन्दित भइरहेको हुन्छ । उही समयमा एकजना मजदुर ज्याला नपाएर तनावमा आउँछ, त्यही वेला मालिकको छोराले एउटा क्लबमा त्यो मजदुरको मासिक तलबबराबरको रकम साथीभाइ र गर्लफ्रेन्डसँग खर्च गरिरहेको हुन्छ । गाजा या लेबनानमा एउटा परिवारका कलिला बालक चिच्याउँदै मृत्युवरण गरिरहँदा एकजना इजरायली सैनिकको मुहारमा भने विजयको उन्मादपूर्ण मुस्कान मैले देखेको छु ।
मानिसहरू मलाई बलशाली भन्छन् । समयले सबै छिनोफानो गर्छ भन्छन् । तर, म यति निरीह छु कि मैले केही गर्न सकिनँ । म शक्तिशाली हुन्थेँ या म मानिसहरूले भनेजस्तो निर्धारण गर्न सक्ने हुन्थेँ भने त म अस्ति कर्णाली नदीमा मानिस आर्तनाद गर्दै मर्न थालेको वेला माथि आकाशमा उडिरहेको मन्त्रीको हेलिकोप्टरलाई तल ल्याएर उद्धार गर्न सक्थेँ होला नि ! तर सकिनँ । म निरूपाय भएँ । मैले सकिनँ । मेरो नियन्त्रण यही लोकका मानिससँग छ । समय केही होइन । म केही होइन । जे हो, त्यो शक्ति हो ।
मानवजातिको इतिहास सिर्जना भएका यी लाखौँ वर्षमा मैले सिकेको एउटै कुरा हो– अरू सबै कुरा अर्थहीन हुन्, मुख्य कुरा शक्ति हो । शक्ति छ भने तपाईं फुटबल विश्वकपको रातो गोललाई पनि सेतो गर्न सक्नुहुन्छ । अनुभव नै नभएको मानिसलाई मन्त्रीको पद दिन सक्नुहुन्छ । तपाईं जननिर्वाचित प्रतिनिधिको सरुवा गर्न सक्नुहुन्छ । तपाईं इतिहास परिवर्तन गर्न सक्नुहुन्छ । हिजो शक्ति थियो (जनशक्ति र परिवर्तनको हुटहुटी) र त राजतन्त्र बिदा भयो ।
अब यो शक्ति नैतिक–अनैतिक जुनै रूपमा पनि आर्जन हुन्छ । शान्तिपूर्ण, क्रान्तिपूर्ण, डर–धम्की अनि त्रासपूर्ण, चाकरी गरेर, धम्क्याएर वा समर्पण गरेर, जसरी पनि प्राप्त हुन सक्छ । त्योचाहिँ विवेकमा भर पर्छ । मानव इतिहासका कैयौँ कालखण्डमा यी विभिन्न तरिका अपनाएर शक्ति प्राप्त भएका घटनाहरूको म साक्षी छु । तर, यो हजारौँ वर्षको इतिहासको साक्षी म, मैले देखेको के हो भने, नैतिक बलबाट प्राप्त शक्तिले मेरो सान्निध्य धेरै समय पाउँछ । अनैतिक, अवाञ्छित तवरले प्राप्त शक्तिले छिट्टै मलाई गुमाउँछ ।
जे होस्, कतिपय मानिसलाई म सधैँ उस्तै हुन्छुजस्तो लाग्छ होला । तर, म निरूपाय भए पनि मानिसहरूकै व्यवहारका कारण तत्कालमा पीडादायी अनुभूतिबाट गुज्रिए पनि, मेरो क्रमसँगै म खुसी पनि हुने गर्छु । बलात्कारीको उन्माद र बलात्कृतको चरम पीडा एउटै समयमा हुँदा म जति छटपटिन्छु, त्यही बलात्कारीले जन्मकैद पाएको फैसला हुँदा म हजार गुणा बढी खुसी हुन्छु । सत्ताको उन्मादमा हिँड्नेहरू संख्याविहीन भएर छटपटिँदा म त्यसरी नै खुसी हुन्छु । त्यही भएर त केही पनि स्थायी हुन्न भनिएको हो ।
समस्या के हो भने, वर्तमानका लागि म उपेक्षित हुन्छु सधैँ । वर्तमानमा मलाई कसैले वास्ता गर्दैनन् । तर, वर्तमानको परिणाम भविष्यमा देखिँदा मेरो इज्जत हुन्छ, बल्ल मेरो याद आउँछ ।
मेरो आग्रह यत्ति छ– म भूत, वर्तमान र भविष्यमा पनि उही समय हुँ । कृपया मलाई वर्तमानमा पनि इज्जत दिनुहोस् । जे कर्म गर्दै हुनुहुन्छ, त्यसको भविष्यसमेत सोचेर गर्नुस् ।
धन्यवाद ।