नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सव मनाएको छ। मंगलबार भर्चुअल र भौतिक उपस्थितिमा कर्मचारीहरूलाई शपथग्रहण गराएर बैंकले वार्षिकोत्सव मनाएको हो।
काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले कर्मचारीहरूलाई शपथग्रहण गराए। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा एक अग्रणी बैंकको रूपमा स्थान कायम राख्न प्रत्येक कर्मचारीले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए। बैंकले निरन्तर पालना गर्दै आएका अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूले सुशासनलाई सुदृढ पार्न र सञ्चालन उत्कृष्टता कायम गर्न सफल भएको उनको भनाइ थियो।
सो अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रधान कार्यालयसहित सबै प्रदेशहरूमा रक्तदान कार्यक्रम गरेको थियो। साथै, विराटनगरस्थित लक्ष्मीनारायण वेद विद्याश्रमलाई स्मार्ट बोर्ड तथा विराटेश्वर जेष्ठ नागरिकमैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरेको छ। त्यसैगरी, वीरेन्द्रनगरस्थित प्रभात मावि र हरिदिल भूमि माविलाई पनि स्मार्ट बोर्ड प्रदान गरेको छ।