ध्रुर्बे हात्तीपीडित परिवारलाई राहत र रोजगारी, निगरानी गर्न नयाँ स्याटेलाइट रेडियोकलर जडान गरिँदै

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

भरतपुर महानगरपालिका– २३, जगतपुरमा चार दिनअघि घरमै पसेर २३ वर्षीया आशिका बोटे र उनका चारवर्षीय छोरा भरत बोटेको ज्यान लिने जंगली हात्ती ‘ध्रुर्बे’को गतिविधि नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले नयाँ स्याटलाइट रेडियोकलर जडान गर्ने तयारी गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार ध्रुवेको शरीरमा नयाँ स्याटलाइट रेडियोकलर जडान गर्न प्राविधिक टोली निकुञ्जमा आइपुगेको छ। टोलीले डार्ट बन्दुकमार्फत बेहोस बनाउने सुई प्रयोग गरी हात्तीलाई नियन्त्रणमा लिएपछि नयाँ रेडियोकलर जडान गर्नेछ।

मानिसप्रति अत्यन्त आक्रामक व्यवहार देखाउँदै आएको ध्रुर्बेलाई डार्ट गर्ने क्रममा उसको उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गर्ने तयारी गरिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार हाल ध्रुर्बे भरतपुर महानगरपालिका–२८, गोलाघाटआसपासको क्षेत्रमा सक्रिय छ। आमा–छोराको ज्यान लिएपछि जंगलतर्फ फर्किएको ध्रुर्बेले गएराति गोलाघाट क्षेत्रमा पुगेर स्थानीयका घर तथा अन्नबालीमा क्षति पुर्याएको छ। त्यसपछि निकुञ्जले उसको गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

पीडित परिवारलाई राहत र रोजगारी
ध्रुर्बेको आक्रमणमा परी ज्यान गुमाएका आशिका बोटे र उनका छोरा भरत बोटेको परिवारलाई भरतपुर महानगरपालिकाले राहत उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, वडा नम्बर २३ का अध्यक्ष दीपक दवाडीलगायत घटनास्थल पुगेर पीडित परिवारसँग भेट गरेका छन्।

महानगरपालिकाले पीडित परिवारको पुर्स्थापना र जीविकोपार्जनलाई ध्यानमा राख्दै परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गरेको जनाएको छ। साथै, करिब ४ लाख रुपैयाँ आर्थिक सहयोग, खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्रीसमेत हस्तान्तरण गरिएको छ।

महानगरपालिकाले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन जीविकोपार्जन सुनिश्चित गर्न रोजगारीको व्यवस्था गरिएको जनाएको छ।

सुझावित समाचार